रोकिएन नेप्से परिसुचक घट्नेक्रम, कारण यस्तो छ

काठमाडौं, फागुन २८ । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार परिसुचक नेप्से घटेको छ । निकै उतारचढावकाबीच नेप्से ७ दशमलव ०८ अंकले घटेर १ हजार २ सय ७७ दशमलव ०१ अंकको बिन्दुमा पुगेको छ ।

परिसुचकसँगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ३२ करोड ७ लाख २७ हजार ४ सय ८५ रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार १५४ कम्पनीको ३१ करोड ३१ लाख ६५ हजार ९१६ रुपैयाँको खरिदबिक्री भएको हो ।

कारोबारमा आएका नौ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह घटेका छन् ।

सर्वाधिक कमाउने कम्पनीहमा सांग्रिला डेभलपमेन्ट बैंक र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक रहेका छन । सांग्रिलाको मूल्य ७.०२ प्रतिशत र कालिकाको मूल्यको ४ प्रतिशतले मूल्य बढेको छ ।


त्यसैगरी आज सर्वाधिक गुमाउने कम्पनीहरुमा काबेली विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेका छन् । काबेलीको मूल्य ५.३३३३ र महिला सहयात्राको शेयर मूल्य ५.०६५१ प्रतिशतले बढेको छ ।


पुँजी बजार सोमबार पनि तलै झरेको छ । अधिक आपूर्तिका कारण बजारमा बिक्री चाप झनै थपिएको हो । सोमबार केही बेर बजार माथि जाने प्रयत्न गरे पनि त्यो सफल हुन सकेन । अलिकति बजार बढ्ने बित्तिकै फेरि बिक्री चाप आउँदा समस्या उत्पन्न भएको ब्रोकरहरुको भनाई छ । लगानीकर्ताको हतास मनस्थितिका कारण पनि बजार तल झर्न सहयोग पुगेको हो । बजार बढेका बेला अझै माथि जान्छ भन्ने आम लगानीकर्ताको मानसिकता हुन्छ । यसैगरी, बजार ओरालो लागेका बेला झनै तल झर्छ भन्ने त्रसित मनोवृत्तिका कारण बजार थामिन नसकेको हो ।

पछिल्लो पुँजी बजारमा उत्साह भर्ने किसिमका खबर आउन सकेका छैनन् । लगानी योग्य पुँजी अभावका कारण बैंक तथा वित्तीय संस्थाहरु नै आपसमा विवाद गर्न थालेका छन् । ब्याजदर वृद्धिका कारण बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच विवाद चुलिएको छ । यसले पनि बजारमा लगानी गर्ने पुँजीको चरम अभाव भएको पुष्टि हुन्छ ।

यसैगरी, लगानी गर्ने पैसा अभाव हुँदा बैंकहरुले निक्षेपमा आकर्षक ब्याज प्रस्ताव गरेका छन् । जोखिम लिन नचाहने लगानीकर्ता बैंक निक्षेपमा पनि आकर्षित भइरहेका छन् । यसले पनि बजारमा लगानीकर्ताको ध्यान कम भएको अनुमान छ । तर विश्लेषकहरुका अनुसार सेयर बजारमा लगानी गरेपछि धैर्यता आवश्यक हुन्छ । थोरै जोखिम पनि लिन सक्नुपर्छ । होल्ड गर्ने लगानीकर्ताले राम्रै प्रतिफल हासिल गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 4:35 pm