एमालेले राष्ट्रिय सभा अध्यक्षको टुंगो आज लगाउने

काठमाडौं, फागुन २८ । एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंग्याउने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे निर्णय गर्न सोमबार बिहान स्थायी कमिटी बैठक बोलाइएको छ ।

‘आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भएकाले प्रर्याप्त छलफल गर्न पाएनौँ ।’ भट्टराईले भने, ‘सोमबार बिहान मनोनयन दर्ता हुनुअघि स्थायी कमिटी बैठकले निर्णय गर्छ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

सोमबार नै बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । पर्शु मेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेनाले अध्यक्षको दाबी गरेका छन् । दुवै नेताले तीव्र लबिङ गरिरहेका छन् ।

तीनजना सदस्यले भोट हाल्न नपाउने
राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय फोरम र राजपाबाट २–२ जना सांसद छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् ।

आज मनोनयन दर्ता
राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

दिउँसो साढे १ बजे नामवली सार्वजनिक गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । अध्यक्षको निर्वाचन बुधबार तोकिएको छ ।

कांग्रेसको अनौपचारिक बैठक बस्ने
राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसले छलफलसमेत गरेको छैन ।

तर, यस विषयमा निर्णय गर्न सोमबार बिहान अनौपचारिक बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘सोमबार बिहान अनौपचारिक बैठक बोलाएका छौँ’ शर्माले नयाँ पत्रिकासँग भने, ‘बैठकपछि मात्र अध्यक्षको उम्मेदवार उठाउने/ नउठाउने विषयमा निर्णय गर्छौँ ।’

उपाध्यक्षमा माओवादीका तीन नेतृको दाबी
राष्ट्रिय सभाको अध्यक्ष एमालेले र उपाध्यक्ष माओवादीले लिने सहमति भइसकेको छ । अध्यक्ष पुरुष हुने भएपछि उपाध्यक्ष महिला हुनुपर्छ ।

माओवादीबाट उपाध्यक्षमा विना पोखरेल, शशिकला दाहाल र युटोन लामाले दाबी गरेका छन् । तर, संघीय समाजवादी फोरमसँग वार्ता जारी रहेकाले माओवादीले उपाध्यक्षको उम्मेदवार टुंग्याएको छैन ।

फोरमले ३ मन्त्रीसहित उपसभामुख वा राष्ट्रिय सभाको उपाध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ । उपाध्यक्षको निर्वाचन ४ चैतका लागि तोकिएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /