सात महिनामै थपिए दुई लाख सवारी

काठमाडौं, फागुन २८ । चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ। सात महिनामा कार/जिप दर्ताको संख्यामा भने गिरावट आएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार चालु आवको सात महिनामा देशभरका यातायात कार्यालयमा दुई लाख १६ हजार नौ सय ८६ वटा सवारी दर्ता भएका छन्। तर, गत आवको ६ महिनामै दुई लाख ११ हजार नौ सय ६९ सवारी दर्ता भएका थिए। चालु आवको सात महिनामा दर्ता भएका सावारीको संख्या गत आवको ६ महिनामा दर्ता भएका सवारी संख्याभन्दा पाँच हजार १७ बढी हो।

थपिएका सवारीको संख्या गत आवमा भित्रिएका कुल सवारीको ४८ प्रतिशत हो। गत आवमा चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए।

यसैगरी गत आवको ६ महिनामा भने आव २०७२/७३ मा दर्ता भएका सवारीको ३८ प्रतिशत सवारी थपिएका थिए। गत आवको ६ महिनामा दुई लाख ११ हजार नौ सय ६९ सवारी थपिएका थिए। नेपालमा कार/जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई–रिक्सालगायत गाडी आयात हुन्छन्।

थपिएका सवारीमध्ये मोटरसाइकलको संख्या धेरै छ। चालु आवको सात महिनामा एक लाख ७७ हजार ६ सय ३० वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्। कुल दर्ता भएका सवारीमध्ये ८१ प्रतिशत मोटरसाइकल छन्। तर, गत आवको ६ महिनामै एक लाख ६३ हजार दुई ५५ वटा मोटरसाइकल दर्ता भएको थियो।

नेपालमा एक लाख रुपैयाँपर्ने इलेक्ट्रिक स्कुटरदेखि ५७ लाखसम्मका ‘हेभी बाइक’ बिक्री हुन्छन्। उपत्यकाको बढ्दो जामका कारण मोटरसाइकलमा आर्कषण बढ्दो छ। तर, बैंक तथा सकारीले सवारी खरिदमा दिने कर्जामा कडाइ गरेसँगै मोटरसाइकलको दर्तामा पनि कमी आएको भट्टराई बताउँछन।

तर, सरकारले सवारीसाधनमा लगाएको उच्च भन्सार दरका कारण पनि नेपालीको आम्दानीमा मोटरसाइकल/रस्कुटर नै सहज बनेका हुन्। विभागका अनुसार अहिलेसम्म सवा २४ लाख मोटरसाइकल तथा स्कुटर दर्ता भइसकेका छन्।

तर, गत आवको माघदेखि बैंकले सवारी कर्जामा कडाइ गरेको प्रभाव कार/ जिप दर्तामा देखिएको छ। चालु आवको सात महिनामा जम्मा सात हजार पाँच सय ७५ सय वटा मात्र्र कार/जिप दर्ता भएका छन्। तर, गत आवको ६ महिनामै १४ हजार ४६ कार/जिप दर्ता भएका थियो। नेपालमा इन्ट्री लेभलका कारमा बढ्दो आकर्षण छ। मोटरसाइकलबाट कारमा ‘सिफ्ट’ हुनेहरूको रोजाइमा यस्ता कारपर्ने गरेको व्यवसायी बताउँछन्।

नेपालमा १४ लाखदेखि २५ लाखसम्मका कारको बिक्री उच्च छ। नेपाली सडकमा १४ लाख रुपैयाँदेखि चार करोड रुपैयाँसम्मका गाडी कुद्छन्। सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने बस भने सात महिनामा महिनामा १७ सय १२ वटा मात्रै दर्ता भएको छ। बस दर्ताको संख्यामा पनि गिरावट आएको छ।

गत आवको ६ महिनामै २७ सय ६१ बस दर्ता भएका थिए। यसैगरी मिनीबस तथा ट्रक नौ सय ३४, तीन हजार नौ सय ३० डोजर, क्रेन, एस्काभेटर, ट्रक दर्ता भएको विभागको तथ्यांकले देखाउँछ। सात महिनामै अवधिमा चार सय ८७ माइक्रो, चार हजार ९१ वटा पिक अप, ८ हजार नौ सय ६० वटा टेम्पो, पाँच हजार ६ सय ३२ वटा टै«क्टर पावरटेलर, पाँच हजार आठ ९७ वटा ई–रिक्सा र एक सय ३८ अन्य प्रकृतिका सवारी दर्ता भएको विभागको तथ्यांकमा देखाउँछ। तर, गत आवको ६ महिनामै अवधिमा दुई ७९ माइक्रो, ६७ सय ५० वटा पिक अप, २३ सय ७६ वटा टेम्पो, सात हजार आठ सय ७० वटा टै«क्टर पावरटेलर, ६ हजार ८ सय ४१ वष ई–रिक्सा र एक सय ६ वटा अन्य प्रकृतिका सवारी दर्ता भएका थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /