प्रधानमन्त्री ओलीको उत्तर, गगनको प्रश्न –लोकतन्त्र मासिन्छ कि भन्ने चिन्ता नगरी आनन्तले सुत्नु !

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी दल कांग्रेसलाई ‘लोकतन्त्र मासिन्छ कि ?’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनेक्रममा विषेशगरी सांसद गगनकुमार थापाको प्रश्नको जवाफमै केन्द्रित भएका थिए ।

थापाले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता लिएर तनावमा नपरी आनन्दले सुत्न आग्रह गरे । उनले सरकार समृद्धिको यात्रामा अगाडि बढाएकाले लोकतन्त्र/जनतन्त्रमा मात्रै समृद्धिको यात्रा अगाडि बढ्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्ने स्पष्ट पारे । उनले ‘संविधान संशोधन नै हुन नसक्ने वा अपरिवर्तनिय हो भनेर आफूले कहिल्यै नभनेको बताए । उनले भने,‘औचित्यका आधारमा संविधान संशोधन हुन्छ र सबै असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर समृद्धिको यात्रामा अगाडि बढाउछ ।’

उनले लडाइँ, झगडाबाट मुलुकले मुक्ति पाइसकेको ठोकुवा गरे । थापाको प्रश्नको जवाफ दिँदै ओलीले सरकारले जनविरोधी काम ग¥यो भने खबरदारी नगरुन् कहिल्यै नभन्ने बताए । उनले,‘हामीसँग भएको दुईतिहाई मत देश एकजुट छ भन्ने सन्देश जनतालाई र विश्वलाई दिन आफूले सबैलाई आग्रह गरेको हो ।’

उनले आफू एमाले र माओवादी केन्द्रको मात्रै नभइ ‘नेपाल सरकारको प्रधानमन्त्री’ भएकाले कुनै पनि शंका नगर्न आग्रहसमेत गरे । ‘म प्रधानमन्त्री एमालेको होइन, एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपाल सरकारको प्रधानमन्त्री हो । म त्यहीअनुसार काम गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘एमाले र माओवादी केन्द्रको तालमेलको नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको हो ।’

सरकारले गन्तव्य तोकेर, लक्ष्य तोकेर, बाटो तय गरेर नीति तयार गरेर योजना बनाएर अगाडि बढ्ेको बताए । प्रधानमन्त्री ओलीले सरकार हिँड्दै जाँदा कहाँ पुगिएला भनेर होइन लक्ष्य तोकेर यात्रा तय गरेको स्पष्ट पारे ।

जनताका सामु गरेको सबै प्रतिबद्धता पूरा गरेरै छाड्ने अठोट गरेका प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धतामा कुनै कमी आउन नदिने गरी काम गर्ने स्पष्ट पारे । उनले भने,‘वादविवाद प्रतियोगिता गरेर केही फाइदा छैन, आफू परिणाममा विश्वास गर्ने भएकाले देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्छु । अर्थतन्त्रको अवस्था कस्तो छ भनेर यसअघि सरकारमा रहेकालाई नै थाहा होला !’

जनताको जीवनमा परिवर्तन ल्याउने गरी वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धतामा कुनै पनि कमी नआउने उल्लेख गरे । प्रधानमन्त्रीले भने,‘के गर्दा मुलुकको पक्षमा काम हुन्छ, कसरी राम्रो हुन्छ भन्नेमा मेरो इमान्दारिता देश र जनताप्रति हो, सुशासनका लागि हो, विकासका लागि हो । मेरो विश्वासमा भरोसा गर्दा फरक पर्दैन ।’

प्रधानमन्त्रीले कैलाली घटनाका दोषीलाई गिरफ्तार गरेर कारबाही गरिएको सदनलाई जानकारी दिए । उनले भने,‘बोक्सी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिइएको छ । छाडिएका दोषीलाई पुनः कारबाही गर्न पक्राउ गरिएको छ ।’

सामाजिक पछौटेपनका कारण बोक्सीको घटना घटेको भन्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा कारबाही गरेर छाड्ने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । उनले वर्तमान सरकारले सामाजिक अपराध, मानवता विरोधी घटना र दण्डहीनतालाई सहन गरेर नबस्ने र सह्य नहुने पनि स्पष्ट पारे । (नयाँ पत्रिका)

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /