प्रधानमन्त्रीलाई संसदमा प्रचण्डको निर्देशन- ‘एक्सनमा गएर काम गर्नुस्’

कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ ?

काठमाडौं, फागुन २७ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको पक्षमा सरकारले तत्कालै एक्सनमा गएर काम गर्नुपर्ने बताएका छन् । संसदमा प्रधानमन्त्री माथि विश्वासको मत दिंदै प्रचण्डले जनताले दुईतिहाई मत दिएको र बलियो अधिकार रहेको भन्दै तत्काल काम गर्न निर्देशन दिए ।

उनले भने, अब यसो भयो भन्ने होइन, सीधै दोषी माथि कारबाही गर्नुपर्छ, भाषण गरेर जनताले विश्वास गर्दैन ।’ अध्यक्ष प्रचण्डले परिणाम देखाउनेगरी काम गर्नुपर्ने आवश्यकतामा गम्भीर बन्न सरकालाई आग्रह गरे ।
उनले भने ‘सरकारले एक्सन लिन सुरु गरोस्, परिणाम देखाउन सुरु गरोस्, दोषीलाई जे गर्ने हो गरोस्, कठोर कदम चालोस्, ऐन–नियममा के व्यवस्था गर्नुपर्ने हो गरोस्, जनताले सरकारबाट एक्सन नै खोजेका छन् ।’

प्रधानमन्त्रीले देश बनाउन भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएकोमा धन्यवाद दिंदै प्रचण्डले लुलो हातले होइन बलियो हातले काम गर्न सुझाए । माओवादी शान्ति प्रक्रियामा आएपछि बनेका १० मध्ये ८ वटा सरकार आफैले बनाएको स्मरण गर्दै प्रचण्डले भने ‘८ वटा बनाउने अवसर पाएको छु, भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ ? भनेर प्रश्न गरे ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 9:16 pm