अब को होला उपसभामुख ! चुनाव चैत २ गते

काठमाडौं, फागुन २७ । उपसभामुखको निर्वाचन चैत २ गतेका लागि तोकिएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा विश्वासको मतको अन्तिम नतिजा सार्वजनिक गर्दै सभामुख कृष्णबहादुर महराले संसदको अगामी बैठकमा उपसभामुखको निर्वाचन गर्ने घोषणा गरेका हुन् ।

सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सभामुख महराले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन्।

चैत २ गते दिउँसो २ बजे बस्ने संसदको आगामी बैठकमा उपसभामुखको निर्वाचन हुनेछ।

वाम गठबन्धनको बहुमत रहेको संसदमा उपसभामुख एमालेको भागमा परेको छ। एमालेबाट कसले उपसभामुखमा स्थान बनाउँछ त्यो तय भइसकेको छैन ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /