प्रधानमन्त्रीले ७७ प्रतिशत सांसदको समर्थन पाएर लिए विश्वासको मत

काठमाडौं, फागुन २७ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चौंथाई बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको संसद बैठकमा भएको मतविभाजनमा केपी ओली नेतृत्वको गठबन्धन सरकारले राजपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा नेपाल, र राप्रपा र एक स्वतन्त्र सांसद छक्क बहादुर लामा समेत गरी २०८ मत प्राप्त गरे । विश्वासको मतको विपक्षमा कांग्रेस र एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदान गरेका थिए ।

६३ सदस्य रहेको कांग्रेसका ६० सांसद मात्र उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा मत विभाजनका बेलामा भने २६८ सांसद मात्र उपस्थित थिए । राजपाका रेशमलाल चौधरी टीकापुर प्रकरणका दोषी रहेको आरोपमा थुनामा छन् । एक सांसद रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देशबाहिर रहेकाले उपस्थित भएनन् ।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्ऽको समर्थनमा ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 7:31 pm