तीन राप्रपाबीच एकता हुँदैं

काठमाडौं, फागुन २७ । राप्रपा, राष्ट्रिय प्रजातान्त्रिक पार्टी र एकीकृत राप्रपाबीच एकीकरणको प्रक्रियामा अघि बढेको छ । एकीकरणका लागि दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए ।

पार्टी विभाजनपछि भएको चुनावमा नराम्रो पराजय बेहोरेका तीनै दल एक भएर अघि बढ्न सैद्धान्तिक रुपमा सहमत छन् । तर एकीकरणको प्रकृया र ढाँचाबारे थप छलफल आवश्यक रहेको नेताहरुले बताएका छन् ।

राप्रपाबाट विजयी प्रतिनिधिसभाका एक मात्र सांसद राजेन्द्र लिङदेनले एक न एक दिन मिल्नै पर्ने भएका कारण एकीकरणको चरण तर्फ अघि बढ्ने बताउनुभयो ।

पार्टी फुट्दा निर्वाचनमा नराम्रो पराजय भोग्नुपरेका तितो यथार्थका कारण राष्ट्रिय राजनीतिमा बलियो पकड बनाउनका लागि मिल्नुको विकल्प नभएको लिङदेनले बताउनुभयो ।

एकीकरण प्रक्रियाबारे प्रकाशचन्द्र लोहनीले भने केही बताउन चाहनुभएन । गत साउनमा राप्रपा विभाजन भएर ३ वटा पार्टी बनेको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /