गोदावरी नगरपालिकाले प्रथम स्थापना दिवस मनायो

ललितपुर, फागुन २७ । आइतबार विभिन्न कार्यक्रम सहित गोदावरी नगरपालिकाले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी चैत्र १५ गतेभित्र प्रदेशको ऐन कानून बनाउने तथा १ वर्षभित्र जनताले प्रत्यक्ष अनुभूति हुने काम गर्ने बताएका छन् ।

उनले अहिलेको नगरपालिका पहिलाको जस्तो नगरपालिका होइन, नगरपालिका स्थानीय सरकार हो । यसले आफ्नो तरिकाले काम गर्न सक्छ । संविधानले व्यवस्था गरेको २२ वटा अधिकार तोकिएको र सोही अनुसार २२ वटा ऐन कानून बनाइ जारी गर्ने भने ।

नगरपालिका समृद्ध बनाउन विभिन्न कार्य्विधि भैरहेको र नगरविकासको लागि आवश्यक ठोस कदम चाल्ने मेयर गजेन्द्र महर्जनले बताए । त्यसैगरी उपमेयर मुना अधिकारीले स्वागत मन्तव्य राखेको थियो भने प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा नगरपालिकामा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्रीराम आचार्य, सीताराम कार्की, हरिकृष्ण विष्ट, शान्ता थापा र ज्ञान बहादुर महर्जन रहेका छन् ।

त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु दीपक श्रेष्ठ, अमृता शाक्य, नितेश श्रेष्ठ, गंगाराम महर्जन र मोहनकृष्ण श्रेष्ठलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

नगरपालिका क्षेत्रमा रहेका सरकारी विद्यालय तथा संस्थागत विद्यालय अन्तर्गत एसइइ परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यालयहरुलाई समेत नगद सहित सम्मान गरेको थियो ।

सरकारी विद्यालय अन्तर्गत वाणिविलास मावि, जनविकास मावि, विशंखुनारायण मावि र संस्थागत विद्यालय अन्तर्गत सेन्टजेवियर्स स्कूल गोदावरी, हिलटप मावि, लालिगुराँस मावि सम्मानित भएका छन् ।

नगरपालिकाको स्थापना दिवसको अवसरमा प्रदेश सांसद लालकुमारी पुन (सुसिला), चेतनाथ सञ्जेल, राजकाजी महर्जन, माधव पौडेल तथा पूर्व अर्थराज्य मन्त्री उदय समसेर राणासमेतको उपस्थिति रहको थियो ।

 

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /