ह्वात्तै घट्यो शेयर बजार

काठमाडौँ, फागुन २७- साताको पहिलो दिन आइतबार पनि सेयर बजार ह्वात्तै घटेको छ । आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आइतबार बजार बन्द हुँदा नेप्से ३१ दशमलव ०४ अंकले घटेर १ हजार २ सय ८४ दशमलब ०४ अंकमा आएको छ ।

गत हप्ताको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १८ दशमलव ६९ अंकले बढेको थियो । नेप्से संगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ४२ करोड ६८ लाख २१ हजार १ सय १८ रुपैयाँको कारोबार भएको मा आइतबार( आज) भने ३२ करोड ५१ लाख ९ हजार २ सय ५४ रुपैयाको कारोबार भएको छ ।

यसदिन कारोबारमा आएका सबै समुहमा गिरावट आएको छ ।


आइतबारको शेयर कारोबारमा कारोबारमा आएका १६० कम्पनीमध्ये ८ कम्पनी बाहेक सबै कम्पनीको शेयरमूल्य घटेको छ । सिद्धार्थ इक्विटी फण्ड, खानीखोला हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, ग्लोबल समुन्नती स्किम १ र लक्ष्मी इक्विटी फण्डको मात्रै सामान्य बढेको हो ।

१५२ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । जसमध्ये ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य ९ दशमलव ३८ प्रतिशतले झरेको छ । त्यस्तै नेपाल इन्स्योरेन्सको शेयर मूल्य पनि प्रतिकित्ता ९९ रुपैयाँ अर्थात ९ दशमलव ३३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 3:23 pm