२५ वाणिज्य बैङ्कको शेयर मूल्य सस्तियो

काठमाडौं, फागुन २७ । दोस्रो शेयर बजारमा कारोबार भएका २५ वाणिज्य बैङ्कको शेयर मूल्य १ महीनाको तुलनामा घटेको छ । लामो समयदेखि घटिरहेको बजारले गर्दा यी बैङ्कको मूल्य घट्न पुगेको हो । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड नेपाल बैङ्कको शेयर मूल्य १ महीनाको अन्तरमा रू. १ सय ६ ले घटेको छ । माघ २३ गते भएको शेयर कारोबारमा यस बैङ्कको शेयर मूल्य रू. १ हजार १ सयमा कारोबार भएको थियो भने फागुन २३ गते रू. ८ सय ९५ मा शेयर कारोबार भएको छ । त्यसैगरी एभरेष्ट बैङ्कको शेयर मूल्य १ महीनामा रू. ७७ ले घटेको छ । माघ २३ गते रू. ८ सय ५० मा कारोबार भएको शेयर फागुन २३ गते रू. ७ सय ७३ मा कारोबार भएको छ ।

बजार घटेसँगै बैङ्क तथा वित्तीय संस्थाहरूको शेयर मूल्य घट्दै गएको छ । गत मङ्गलवार र बुधवार भने शेयर बजार सामान्य रूपमा बढेको थियो । कारोबार भएका २५ वाणिज्य बैङ्कमा सबैभन्दा थोरै मूल्यमा कारोबार हुने बैङ्कमा जनता बैङ्क लिमिटेड रहेको छ । बुधवार भएको शेयर कारोबारमा यस बैङ्कको रू. १ सय ६५ मा शेयर कारोबार भएको छ ।

सिभिल बैङ्क लिमिटेडको रू. १ सय ५६, कुमारी बैङ्कको २ सय ५९ मा कारोबार भएको छ । यस बैङ्कले पूँजी वृद्धि अभियानको लागि १० बराबर २ को अनुपातमा हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद वितरणपछि बैङ्कको पूँजी अपुग हुने भएकाले बोनससमेत दिने अनुमान लगाउन सकिन्छ । वाणिज्य बैङ्कको रू. २ सयको हाराहारीमा कारोबार हुने बैङ्कमा सनराइज बैङ्क, प्राइम कमर्शियल बैङ्क, प्रभु बैङ्क, नेपाल क्रेडिट एण्ड कमर्श, नेपाल बङ्गलादेश बैङ्क, माछापुच्छ«े बैङ्क, सिटिजन्स बैङ्क इण्टरनेशनल लिमिटेड रहेका छन् । यो खबर आजको आर्थिक अभियानमा छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /