स्वास्थ्यमा समस्या देखिएपछि रेशम चौधरीलाई काठमाडौं सारियो

काठमाडौं, फागुन २७ । कारागारमै आमरण अनशनरत कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश चौधरीलाई केन्द्रीय कारागार काठमाडौं स्थानान्तरण गरिएको छ । शनिबार साँझ उनलाई हवाईजहाजबाट काठमाडौं पठाएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै चौधरी अनशनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । प्रजिअ रिजालका अनुसार चौधरीको पिसाबमा रगत देखिएको छ ।

शुक्रबार नै स्वास्थ्यमा समस्या देखिएपछि सेती अञ्चल अस्पताल पुर्या‍इएको थियो । तर, चौधरीले उपचार गर्न मानेका थिएनन् । शनिबार दिउँसो पुनः अस्पताल लगिएको थियो । उपचार हुन नसक्ने देखिएपछि काठमाडौं पठाएको जनाएको छ । ‘यहाँ उपचार नहुने देखिएपछि केन्द्रीय कारागारमा पठाएका छौँ । उतै उपचार होला,’ प्रजिअ रिजालले भने । उनीसँगै अनशनरत अन्य पाँचजनाको भने सेती अञ्चल अस्पतालमै उपचार भएको छ ।

टीकापुर घटनाका अभियुक्त चौधरीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामै राजपाबाट चुनाव लडेका उनी अत्यधिक मतले विजयी भएका हुन् । तर, निर्वाचन आयोगले अहिलेसम्म निर्वाचित भएको प्रमाणपत्र दिएको छैन ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /