रेशम चौधरी वीर अस्पतालमा

काठमाडौं, फागुन २७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशन लगत्तै कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई काठमाडौं ल्याइएको छ। धनगढीबाट बद्ध एयरको उडानमा चौधरीलाई साँझ काठमाडौं ल्याइएको हो।

काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलका अनुसार चौधरीलाई एयरपोर्टबाट सिधैँ वीर अस्पतालमा लगिएको छ। २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा मुख्य दोषी रहेको आरोप छ। टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसअघि उनी भारत बस्दै आएका थिए।

आत्मसर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। थुनामा रहँदा चौधरीले अनसन सुरुगरेपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै गृहमन्त्री बादलले थप उपचारका लागि चौधरीलाई काठमाडौं ल्याउन शनिबार निर्देशन दिएका हुन्।

भारतमै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी हुन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /