महरा सभामुखमा निर्वाचित

काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले महरा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन । उनलाई कांग्रेस र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए ।

शुक्रबार एक बजेसम्म उम्मेदवारीका लागि समय तोकिए पनि कांग्रेसले भने माओवादी नेता महरा नै सभामुखका लागि उपयुक्त व्यक्ति भएको भन्दै उम्मेदवारी दिएन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेद्वारको व्यक्तित्वको कदर गर्दै र सहमतीय राजनीतिलाई प्रश्रय दिदै सभामुखमा पार्टीको तर्फबाट उम्मेद्वार नउठाएको जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई राष्ट्रियसभाको अध्यक्ष दिएर पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेद्वार बनाउने प्रयास गरे पनि माओवादी केन्द्रले त्यसलाई अस्वीकार गर्दै महरालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /