महिला अधिकार सुनिश्चितताको लागि प्रतिबद्धः राउत

धनुषा, फागुन २६ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले महिला अधिकार सुनिश्चितताको लागि आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेश सरकारको मन्त्रिपरिषद बिस्तारमा महिलाको उपस्थिति प्रति असन्तुष्ट हुँदै शनिवार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री राउतले मन्त्री परिषद विस्तार अझै बाँकी रहेकाले महिलाहरुको सुनिश्तितालाई विशेष ध्यान दिइने प्रतिवद्धता जनाएका छन् ।

महिला संजाल धनुषाका अध्यक्ष मन्जु यादवको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीले मन्त्रिपरिषदको विस्तारमा महिलालाई उचित स्थान नदिइ संविधानको उपेक्षा गरिएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

अहिले प्रदेश नम्बर दुईको मन्त्रीमण्डलमा एकजना मात्रै महिला मन्त्री रहेका छन् । संविधानले महिलालाई प्रदत गरेको अधिकार सुनिश्चित गराउनेमा ढुक्क हुन मुख्यमन्त्री राउतले आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 1:02 pm