राजपाका नेताले भेटे गृहमन्त्रीलाई

काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले कैलाली कारागारमा थुनामा रहेका सांसद रेशम चौधरीको रिहाईको माग गर्दै गृहमन्त्रीसँग भेट गरेका छन् ।

सांसद चौधरी अनसन बसिरहेका कारण स्वास्थ्य अवस्था नाजुक बन्दै गएको विषयमा गम्भीर बन्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

जवाफमा गृहमन्त्री थापाले चौधरीलाई रिहाई गर्नेबारेमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीसँग सल्लाह गरेर उचित निर्णय लिइने जवाफ दिएको यादवले बताए ।

सांसद चौधरीले संसदबाट पद तथा गोपनीयताको शपथ लिएका छैनन् । टीकापुर घटनाका मुख्य दोषी भन्दै उनलाई प्रहरीले फरार सूचिमा राखेमा थियो तर, केही दिन अघि उनले अदालत समक्ष आत्मसमर्पण गरेका थिए ।

त्यसपछि अदालतले चौधरीलाई कैलाली कारागारमा थुनामा राख्न आदेश दिएपछि उनले थुनामै अनसन सुरु गरेका छन् ।

अनसन अवस्थामै शुक्रवार उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गर्न खोजे पनि चौधरीले उपचार गर्न समेत नमानेर पुनः कारागार पठाइएको थियो ।

गृहमन्त्रीलाई सपथको वातावरण मिलाउन आफूहरुले ध्यानाकर्षण गराइएको यादवले बताए । गृहमन्त्रीलाई भेट्न राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिल झा र नेता वृषेशचन्द्र लाल पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 12:55 pm