नेपाल–अफगानिस्तान: चिरप्रतिद्वन्द्वीसँग फेरि मौका

काठमाडौं, फागुन २६ । नेपालले कठिन समीकरणबाट धेरैपल्ट उम्कँदै चाहेको नतिजा निकालेको छ । आयोजक जिम्बावे र स्कटल्यान्डसँग पहिलो दुई खेलमै पराजय भोगेपछि विश्वकप छनोट क्रिकेटमा नेपालसँग धेरै विकल्प बाँकी छैन । अफगानिस्तान र हङकङसँग बाँकी रहेको दुवै खेल जितेमात्र नेपाल सुपर लिग पुग्न सक्छ । सिधा समीकरण यहीमात्र हो ।

सुपर लिग पुगेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने र फोर–डे अन्तरमहादेशीय कपमा खेल्ने छ । अन्यथा प्ले(अफमा झर्दै नेपाल फेरि विश्व क्रिकेट लिगको डिभिजन २ मा पुग्नेछ । त्यसको अर्थ अफगानिस्तान र हङकङमध्ये एकसँग हारे पनि नेपाल रेलिगेसनमा पर्न सक्छ । शनिबार अफगानिस्तानविरुद्ध हुनेखेलअघि यो तथ्यसँग नेपाली टोली पूर्ण जानकार छ ।

नेपाल र अफगानिस्तान एसोसिएटका उत्कृष्ट चिरप्रतिद्वन्द्वी थिए । अफगानिस्तान सन् २०१५ को विश्वकपमा छनोट भएपछि नेपाललाई उसले धेरै पछाडि पार्‍यो । डिभिजन २ भन्दा माथि उठ्न नसकेपछि नेपाल स्वत: तल पर्‍यो ।

अफगानिस्तानले गत वर्ष टेस्ट मान्यता नै पायो । यसले अफगानिस्तान–नेपाल भिडन्त नै दुर्लभ बनाइदियो । गत महिना नेपाल डिभिजन २ को फाइनल पुगेसँगै विश्वकप छनोटमा अफगानिस्तानसँगको भेट फेरि सम्भवभएको हो ।

जिम्बावेसँग नेपालले आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा बढी ३ सय ८० रन खर्चेको थियो । नेपालले जवाफमा २ सय ६४ रन बनाउदै ब्याटिङमा केही आशा जगाएको थियो । स्कटल्यान्डसँग नेपालको माथिल्लोक्रमको ब्याटिङले निराश बनायो । नेपाल १ सय ४९ रनमै अलआउट भयो । अफगानिस्तानसँग नेपालले निकै सुधारिएको ब्याटिङ गर्न जरुरी छ ।

‘हामीले स्कटल्यान्डसँग जुन ब्याटिङ देखायौं त्यो भन्दा धेरै राम्रो ब्याटिङ गर्नुपर्नेछ । हामीले माथिल्लो स्तरको ब्याटिङ देखाउनुपर्छ,’ स्कटल्यान्डसँगको पराजयपछि नेपालका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भनेका थिए । अफगानिस्तानको प्रदर्शन नेपालको भन्दा झन् दयनीय छ । पहिलो तीन खेल नै हारेपछि अफगानिस्तानको सुपर सिक्समा पुग्ने सम्भावना गणितीय हिसाबमा मात्र अल्झेको छ ।

‘अन्तिम दुई खेलअगाडि हामीसँग अझ खुला विकल्प छ । अफगानिस्तान निकै खराब हिसाबमा यो प्रतियोगितामा गुज्रिरहेको छ । दुवै टोलीलाई जित्नैपर्ने बाध्यता छ । अफगानसँगको खेल जित्न हामी आफ्नो सबै शक्ति लगाउने छौं,’ पारसले भने, ‘हामीले सबै क्षेत्रमा एकरुपमा प्रदर्शन गर्न जरुरी छ । त्यसो भएमा चाहेको नतिजानिकाल्न सक्छौं । अफगानसँगको खेलअगाडि मैले हाम्रो ब्याटिङ, बलिङ र फिल्डिङबाट यही आस गरेको छु ।’

अफगानिस्तान सन् २००४ मा मलेसियामा भएको एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आएको थियो । त्यसको प्लेट फाइनलमा नेपालले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानसँग ५० ओभरको खेलमा लगातार ६ पराजय भोगेको छ । २०१४ को विश्व ट्वान्टी–२० मा भने नेपालले बंगलादेशमा अफगानिस्तानमाथि ९ रनको अविस्मरणीय विजय हात पारेको थियो ।

नियमित कप्तान अस्घर स्टानिकजाई र अर्का प्रमुख ब्याट्सम्यान मोहम्मद शेहजाद गुमाएपछि अफगानिस्तान गहिरो संकटमा छ । स्टानिकजाई अस्वस्थ भई प्रतियोगिताबाट बाहिरिए भने आचारसंहिता उल्लंघन गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले दुई खेलको प्रतिबन्ध लगाउँदा शेहजादले नेपालसँगको खेल पनि गुमाउन लागेका हुन् ।

‘प्रतियोगिता सुरु हुनुअघि हामीले कप्तान गुमायौं र त्यसपछि आक्रामक ब्याट्सम्यान शेहजाद । सवै हाम्रो विपक्षमा गइरहेको छ,’ अफगानिस्तानका कप्तान रशिद खानले आईसीसीसँग भने । रशिदले ४ विकेट लिइसकेका छन् । उनले जिम्बावेविरुद्व ३ विकेट लिएका थिए । उनीसँगै अफ स्पिनर मुजिव उर रहमान नेपालका लागि प्रमुख चुनौती हुन सक्छन् । उनले ३ खेलमा ८ विकेट लिइसकेका छन् ।

अफगानिस्तान जुन हिसाबले खेलिरहेको छ । त्यस हिसाबमा रहमान ओपनिङ बलिङ आउन सक्छन् । उनले हङकङसँग दवलत जाद्रानसँगै नयाँ बल लिएर ३ विकेट लिएका थिए । ५ महिनाअघि मलेसियामै भएको एसीसी यू–१९ एसिया कपमा उनले नेपालसँग ६ विकेट लिएका थिए ।

अनिल शाहबाहेक अन्य सवै ब्याट्सम्यान उनको बलिङसामु घुँडा टेकेको थियो । जिम्बावे भ्रमणमा रहे पनि अनिलले मौका पाएका छैनन् । विकेटकिपर/ब्याट्सम्यान दिलीप नाथ लगातार रूपमा असफल हुनाले उनकालागि एउटा ढोका खुला हुनसक्छ । तर रहमानको बलिङशैलीलाई हेरेर देव्रेहाते ब्याटसम्यान भएकाले दिलीपले अर्को मौका फेरि पाउन सक्छन् ।

ब्याटिङबाट आफ्नो छुट्टै पहिचान बनाइरहेका तीव्र बलर करण केसी प्लेइङ ११ मा फर्कन सक्छन् । जिम्बावे र स्कटल्यान्ड स्पिन बलिङमा केही कमजोर रहेको तथ्यसाथ नेपालले करणको स्थानमा देव्रेहाते स्पिनर ललितनारायण राजवंशीलाई जिम्बावेसँगडेब्यू गर्ने मौका दिएको थियो । उनले दुवै खेलमा १–१ विकेट लिएर किफायती बलिङ गरे पनि अफगानिस्तानसँग करणले मौका पाउन सक्छन् ।

अफगान कप्तान रशिदको चिन्ता प्रतियोगितामा टोलीको प्रदर्शनलाई लिएर छ । ‘अफगानिस्तानले जसरी गएको २ वर्ष खेलेको छ त्यसअनुसार यस्तो प्रदर्शन अपेक्षा गरिएको थिएन । हामीले गैरजिम्मेवार क्रिकेट खेल्यौं, जुन आस गरिएको थिएन । तर क्रिकेटमा यस्तो हुन्छ । कहिलेकाहीँ चाहेजस्तो हुँदैन । कहिलेकाहीँ म्याच चाहे जसरी अगाडि बढ्दैन । कहिलेकाहीँ प्रतियोगिता आफूले चाहेको जस्तो हुँदैंन,’ उनले भने ।

नेपालसँग सन् २०१४ पछि ५० ओभरमा अफगानिस्तान पहिलो खेल खेल्दै छ । त्यसमा विजय हात पारेमा तथा हङकङ शनिबार नै हुने खेलमा जिम्बावेसँग पराजित भए आफ्नो टोलीको झिनो आशा उनले देखेका छन् । ‘हामीले नेपालको खेलबाट केही लिन सके र त्यसपछि हङकङ–नेपालको खेलमा केही भएमा जे पनि हुनसक्छ । तर हामीले जसरी पछिल्ला तीन खेल खेल्यौं त्यो अफगानिस्तानको असली खेल थिएन,’ रशिदले भने । (कान्तिपुर)

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 8:30 am