रारामा घटे असला माछा

गमगढी, फागुन २६ । रारा तालमा प्रदूषण बढेपछि असला जातको माछा प्रतिदिन घट्न थालेको छ। आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै ताल प्रदूषित हुँदा ‘भाइरल’ र ‘जुजुर्मा’ का कारण माछा घटेको एक प्रतिवेदनले देखाएको हो। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

त्रिभुवन विश्वविद्यालयका प्राडा केशकुमार श्रेष्ठले तीन महिना लगाएर गरेको अनुसन्धानले रारा तालमा मिसिने पानीका सहायक मुहान र किनारमा फोहोर बढेकाले वैशाखदेखि असारसम्म बढी माछा मर्ने गरेको पत्ता लागेको थियो। माछा घट्नुको प्रमुख कारण फोहोरसँगै मिसिएका विभिन्न विषादी र जलवायु परिवर्तनको असरलाई देखाइए पनि तालमा डुंगासयरले समेत संख्यावृद्धिमा बाधा पारेको प्रतिवेदनमा उल्लेख छ।

दिनमा दर्जनौंपटक तालमाथि डुंगा चलाउँदा माछाले आहारा खोज्न किनारमा आउन नसक्ने भएकाले चारोसमेत नपाई मर्ने गरेको तथा डुंगामै तयारी उपभोग्य वस्तु तथा पेय पदार्थ सेवन गर्दा निस्कने फोहोर, सिसी, प्लास्टिकसमेत तालमै फाल्ने गर्दा प्रतिदिन माछाको संख्या घट्दै गएको निकुञ्ज कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए।

विशेषगरी तालको किनारनजिकै बाटो हुनु, पर्यटकले तालकिनारमा गएर रमाइलो गर्दा ध्वनि प्रदूषणले माछाले आहार खोज्न नपाउने तथा तालकिनारमा फालिएका फोहोरले समेत नराम्रो प्रभाव पारिरहेको उनले बताए। माछाले फुल पार्ने समय फागुनदेखि सुरु हुने, यो समयमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्ने, तालकिनारमा मान्छेको आवतजावत बढ्दा गहिरो सतहमा फुल पार्ने तर भुरा नजन्मिने हुँदा माछाको संख्या घटेको श्रेष्ठको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

तालमा भालेभन्दा पोथी माछाको संख्यामा कमी पाइएको छ। साताको एक दिन सेना, निकुञ्ज कार्यालय र सर्वसाधारणले तालवरिपरि सरसफाइ गरे पनि दिनहुँ आउने पर्यटकले ल्याएका आयातीत खाद्य र पेयपदार्थका बोतल, सिसा, प्लास्टिकलगायत फोहोर तालकिनारमै फाल्ने गरेकाले माछाको वृद्धि-विकासमा बाधा पुगेको निकुञ्ज कार्यालयका प्रमुख चौधरी बताउँछन्।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /