हस्तमैथुन समस्या हो ?

म १९ वर्षीय युवक हुँ । धेरै वर्षअघिदेखि मलाई एउटा समस्या छ । म दिनको दुई पटक हस्तमैथुन गर्छु । मेरो समस्या के छ भने जब म आफ्नी गर्लफ्रेन्डलाई किस गर्छु मलाई यौनसम्पर्क गर्न मन लाग्छ, तर उनी त्यसो गर्न दिन्नन् । त्यसपछि मेरो तल्लो पेट र अण्डमा पीडा हुन्छ । यो के भएको हो ? यो समस्या समाधानका लागि मैले के गर्नुपर्छ ?

-७००८३

के हस्तमैथुन समस्या हो ?

आफैंले यौनांग चलाउने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । तपाईंलाई थाहै होला कि यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौन अंगको घर्षण प्रमुख हो । सम्भोग गर्दा दुई व्यक्तिको यौन अंग आपसमा घर्षण गराइन्छ ।

मानिसले आफ्नो यौन अंगको घर्षण अरू कसैको यौन अंगमा गराएर मात्र यौन आनन्द प्राप्त गर्ने होइन । हस्तमैथुन एउटा यस्तो उपाय हो जसबाट यौन सम्पर्कबाहेक अन्य तरिकाबाट यौन आनन्द तथा यौन चरमसुख प्राप्त गर्न सकिन्छ । सिद्वान्तत: सम्भोग गर्दा वा हस्तमैथुन गर्दा यौन अंगको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यसरी हेर्दा हस्तमैथुनलाई समस्या भन्न मिल्ने कुरै भएन ।

सामान्यत: हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराएको हुन्छ । मानिसले बाल्यकालदेखि नै वयस्क व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ । हाम्रो स्वस्थ यौन विकासमा हाम्रा सामाजिक मूल्य–मान्यताको पनि ठूलो भूमिका हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा मूल्य–मान्यताले आन्तरिक रूपमा द्वन्द्वात्मक स्थिति सिर्जना भए नकारात्मक असर देखा पर्छन् । यस्ता नकारात्मक असरबाट जोगिन हामीले मनबाटै नकारात्मक धारणा निकाल्न सक्नुपर्छ ।

केटीसाथीले यौनसम्पर्क गर्न किन नदिएको ?

तपाईंलाई यौनसम्पर्क गर्न मन लागेजस्तै तपाईंकी केटीसाथीलाई पनि यौनसम्पर्क गर्न मन लागेको होला, जुन स्वाभाविक हो । तपाईंलाई थाहा भएकै कुरा हो कि किशोरावस्था वा युवा अवस्थामा स्वाभाविक रूपमै विपरीत लिंगीप्रति आकर्षित भइन्छ । यसै क्रममा एक–अर्कालाई मन पराइन्छ अनि प्रेम वा भनौं मायाका भावनाहरू आउँछन् । यसै क्रममा यौन सम्पर्कसमेत राख्न पुगिन्छ । यी भावनाको उचित व्यवस्थापन सामान्य सामाजिक जीवनयापनका लागि आवश्यक हुन्छ ।

किशोरावस्थामा हुने यौन आकर्षण वा मोह (infatuation) नै वास्तविक प्रेम हो जस्तो लाग्न सक्छ । आशा गर्छु, तपाईंहरूको सम्बन्ध प्रेममय नै छ । प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्ने प्रयत्न गरिन्छ । प्रेममा यौन सम्पर्क राख्ने कुरा सर्वोपरि हुँदैन ।

किशोरावस्था वा युवावस्थामा हुने असीम यौनचाहना शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् । मेरो विचारमा एक किसिमले तपाईंकी केटी साथीले यौनसम्पर्क गर्न नमानेर बुद्धिमानी नै गर्नुभएको छ । उहाँ त्यसबाट पर्न सक्ने सम्भावित नकारात्मक असरका सम्बन्धमा सचेत हुनुहुन्छ । विवाहपूर्वको यस्तो सम्पर्क सामाजिक रूपमा अमान्य भएका कारणले सामाजिक बहिष्कार तथा हेंलाको सामना गर्नुपर्ने हुन सक्छ । यस किसिमको यौनसम्पर्क प्राय:जसो हतारमा गरिने भएकाले गर्भनिरोधको उपाय अपनाइँदैन । त्यसैले गर्भ रहन सक्ने सम्भावना हुन्छ ।

यदि गर्भ रहिहाले बेइज्जति सहनुपर्ने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्क नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ । त्यसबाट गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्यासमेत सामना गर्नुपर्ने हुन सक्छ । अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको पनि आफ्नै समस्या छ । त्यसैले विचारै नपुर्‍याई गरिने यौनसम्पर्कबाट जोगिनु आवश्यक छ । जति सानो उमेरमा यौनसम्पर्क सुरु गर्‍यो त्यति नै धेरै यौन साथी हुने सम्भावना हुन्छ, जसले जोखिमलाई बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ ।

जैविक विकासवादलाई हेर्ने हो भने पनि यौनसम्पर्कपछि हुने गर्भ, सन्तानको जन्म वा अन्य कुराको मूल्य महिलाले नै बढी चुकाउनुपर्ने हुनाले समान्य रूपमा महिलाले सजिलै यौनसम्पर्क राख्न मान्दैनन् । कतिपय कारणले पुरुषको तुलनामा महिलाले यौनसम्पर्कपछि धेरै बढी मूल्य चुकाउनुपर्ने भएकाले जैविक रूपमा महिलाहरू यसमा पर्याप्त सोच–विचार गर्छन् र सजिलै यौन सम्पर्क गर्न मान्दैनन् ।

अण्डकोष किन दुखेको होला ?

हामी विभिन्न क्रियाकलापले यौन उत्तेजित हुन्छौं । केटीसाथीसँगको चुम्बनबाट प्रशस्तै यौन उत्तेजना सिर्जना हुन्छ । यौन उत्तेजनापछि स्खलित नहुँदा पनि अण्डकोषमा पीडा भएको महसुस हुन्छ । हामी यौन उत्तेजित हुँदा हाम्रा यौन अंग तथा त्यस वरिपरिको भागमा बढी रक्त प्रवाह हुन्छ । तपाईंलाई थाहै होला, लिंगको उत्तेजना पनि लिंगको विशेष तन्तुमा रगत भरिएर नै हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष, प्रोस्टेट ग्रन्थिमा बढी रक्तप्रवाहका कारणले तरल पदार्थ (lymphatic fluid) जम्मा हुन पुग्छ । त्यसले गर्दा ती अंग केही सुन्निन्छन् । यसका कारणले नै अण्डकोष वा यौनांग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपन अनुभव हुन्छ । अनौपचारिक बोलीचालीको भाषामा यसलाई blue balls भनिन्छ । लामो समयसम्म बढी रक्तप्रवाह भएर त्यहीँ रहँदा त्यसमा अक्सिजनको मात्रा कम हुन्छ, त्यसैले यो केही गाढा रंगको हुन पुग्छ त्यसैले यसलाई blue balls भनिएको हो ।

यस्तो स्थिति सिर्जना हुन नदिने एउटा प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । कहिलेकाहीं यौनसम्पर्कको माध्यमबाट उक्त स्थितिमा पुग्न नसकिए वा यौनसम्पर्क गर्ने स्थिति नभए हस्तमैथुनको सहारा लिन सकिन्छ । केही पीडा वा असजिलो भए पनि सामान्यत: यसको कुनै दीर्घकालीन नकारात्मक असर भने हुँदैन ।
-साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /Friday, March 9th, 2018, 11:01 am