झापा ११ सँग थ्रीस्टार स्तब्ध

झापा, फागुन २५ । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो ।

निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो । झापाका तर्फबाट योगेश गुरुङ, कर्ण लिम्बू, भुषण सुब्बा र देबेन्द्र तामाङले गोल गरेका थिए ।

विश्वास श्रेष्ठको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए । यता थ्रीस्टारका बुद्ध चेम्जोङ र सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए ।

प्रतियोगिताको म्यानअफ दि म्याच झापाका देवेन्द्र तामाङ घोषित हुँदै रु २५ हजार प्राप्त गरेका छन् । शनिबार विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ । –रासस

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /Friday, March 9th, 2018, 9:38 pm