विश्लेषक भन्छन् -अझै चार पाँच महिना बढ्दैन सेयर बजार !

लगातार सेयर बजार घटेपछि यसबारेमा अनेक खालका टिप्पणी हुन थालेका छन् । कतिपयले अर्थमन्त्रीको बोलीका कारण सेयर बजारमा प्रभाव परेको आरोप पनि लगाएका छन् । खासमा बाम गठबन्धनको सरकार गठन हुने चुनावी नतिजा आएपछि बजार घट्न थालेको थियो त्यो क्रम नयाँ अर्थमन्त्री आएपछि पनि जारी रह्यो । के छ बजार घट्नुका कारण ?

हरेक सेयर बजारका आफ्नै विशेषता र आयाम छन्। बीचबीचमा आउने उतार–चढावबाहेक हरेक बजार ‘बुलिस ट्रेन्ड’ मै जाने हो, त्यही देखिँदै आएको पनि छ।

नेपालको बजार हेर्ने हो भने यसअघिको बुल मार्केट २०१२ देखि अर्थात लगभग ३ सयको हाराहारीबाट सुरु भएको हो। त्यो २०१६ को जुलाई २७ सम्म अर्थात १८ सय ८१ अंकसम्म कायम रह्यो।

लगभग ४ वर्षको अवधिमा ६ गुणाले बजार बढ्यो। १८ सय ८१ अंकयता हेर्ने हो भने नेप्सेमा उथलपुथल देखिएको छ। बीचमा १७ सयसम्म पुगेको थियो भने न्यूनतम साढे १२ सयसम्म झरेको थियो।

नेप्सेको अंक हेर्दा बैंकिङ, बिमा, विकास बैंक लगायतका उपसूचक पनि हेर्नुपर्छ। वास्तविक रुपमा सबै सूचक हेर्ने हो भने १६ सय ७५ अंकबाट अर्थात विगत ६ महिनादेखि बजार तल झरिरहेको छ।

सो विन्दुमा एउटा ‘टप’ लगाइसकेपछि बजार ओर्लिरहेको छ। यसलाई बियरिस मार्केट भन्न मिल्दैन, यो एउटा सुधार हो। न्यूनतम कति विन्दुमा सपोर्ट पाउला भन्ने कुरा अहिले चासोको विषय बनेको छ।

अहिलेको अवस्था हेर्ने हो भने १२ सय ७९ को बिन्दुमा नेप्सेलाई सानो सपोर्ट देखिन्छ। यदी त्यो विन्दुमा सपोर्ट पायो भने पनि धेरै माथि जाने सक्ने क्षमता देखिँदैन। ५०/६० अंकसम्म बढ्न सक्छ।

इलेभेटेड टेबललाई आधार बनाएर हेर्ने हो भने सुधारको चक्र पूरा हुँदा नेप्से करिब १२ सयको हाराहारीमा झर्न सक्छ। अर्थात ११ सय ९६ अंकमा सपोर्टको ५० प्रतिशत सम्भावना देखिन्छ। यसै विन्दुमा सपोर्ट पाउने आधार बलियो छ। त्यो लाइनलाई पनि पार गरेमा ११ सय ६० मा झर्न सक्छ। बीचमा केही अंकको उतारचढाव पनि देखिन सक्छ। कतिपयले ९ सयलाई पनि आधार बनाएर भन्ने गरेका छन्। त्यो विन्दुसम्म नेप्से नझर्ला।

विष्णुप्रसाद बस्याल, वित्तीय विश्लेषक

अझै केही महिनासम्म बजार झरिरहेमा यिनै विन्दुले टेवा दिन सक्ने देखिन्छ। आउने ४/५ महिनासम्म मैले अर्थपूर्ण रुपमा बजार बढ्ने संकेत कम देखेको छु। यसबीचमा केही अंकले बढ्न सक्ला तर त्यो बढ्न ‘टप’ लाग्ने आधार विन्दु हुँदैन।

४/५ महिनासम्मको उतारचढावपछि बजारले पुनः बुलिस ट्रेन्ड समाउन एउटा बलियो आधार विन्दु लिन सक्छ। जुन विन्दु २०१२ मा ३ सयको आसपासमा थियो। बुलिस ट्रेन्डले माथिल्लो विन्दु कति समाउँछ र कति अवधि लिन्छ भन्ने कुरा पनि महत्वपूर्ण छ।

यी कुरा प्राविधिक रुपमा भन्न मुश्किल पर्छ। मेरो विश्लेषणनुसार २०२४ सम्म नेप्सेले करिब ६ हजार अंकको उचाइ लिन सक्छ। नेप्से यदि १ हजारसम्म नै घट्यो भने पनि यसले २०२४ सम्म ६ गुणाकै हाराहारीमा वृद्धि लिन सक्ने सम्भावना मैले देखेको छु।

अर्थपूर्ण रुपमा ट्रेन्डको ‘बटन प्वाइन्ट’ परिपक्व नहुँदासम्म वृद्धिदर क्षणिक अथवा केही दिनको मात्रै हुनेछ। जुन विगत ६ महिनादेखिको ट्रेन्डले प्रष्ट पारिसकेको छ।

अबको एक डेढ महिनासम्म घटेर नेप्से माथि जान सकेमा २ देखि ३ सयसम्मको वृद्धि लिन सक्छ। त्यसपछि फेरि बजारले ‘डाउन मुभमेन्ट’ नै लिन सक्ने देखिन्छ। २०१८ को अन्त्यमा मात्रै बजारले एउटा तलको निश्चित विन्दु समातेर क्रमिक रुपमा सुस्त गतिमा उकालो लाग्न सक्ने म देख्छु।

अब लगानीकर्ता न्यूनतम पनि १२ सय अंकको तयारीमा रहनुपर्छ। यद्यपी त्यो अंक नै अन्तिम हुनेछ भन्ने पनि होइन। २०१२ मा झरेको ३ सयको अंकलाई नै अन्तिम आधार विन्दु बनाउँदा ९ सयको विन्दु पनि नछोला भन्न सकिँदैन।

प्राविधिक विश्लेषणका पनि आ-आफ्नै सिद्धान्त हुन्छन्। आफ्नै सिद्धान्तमा रहेर अंकहरुको अनुमान गर्ने हो। त्यसकारण कसैको विश्लेषण नमिल्दा प्राविधिक विज्ञ नै फेल भए भन्नु पनि गलत हुन जान्छ। मैले आफ्नो सिद्धान्तका आधारमा विश्लेषण गरेको छु।

जस्तो नेप्सेले १८८१ लाई ‘टप आउट’ गर्यो, जतिबेला बैंकिङ उपसूचकले पनि टपआउट गरेको थियो। बिमा, विकास बैंक लगायत अन्य क्षेत्रले अगष्ट २०१७ मा मात्रै गएर नयाँ उचाइ लिए। त्यतिबेला अरु क्षेत्रले नयाँ उचाई बनाएकै कारण परिसूचकलाई नै माथि ताने।

जब १२५० को विन्दुमा नेप्से आयो, मार्केट टप आउट भएको छैन। अझै एक पटक माथि जान्छ भनेर मैले भनेको थिएँ। नेप्सेले नयाँ उचाई बनाउन नसके पनि १७ सयको हाराहारीमा त पुगेकै हो नि।

अहिले चलिरहेको बजारलाई ‘स्टान्डर्ड इलेभेटेड’ प्रक्रियाबाट हेर्ने हो भने मैले भनेका कुराहरुमा प्रवल संभावना देखिन्छ।

महत्वपूर्ण लागेको हामीले यो सामग्री सेतोपाटीबाट साभार गरेका हौं । सम्पादक

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /Friday, March 9th, 2018, 9:18 pm