पुरानो बस्तीलाई ‘नक्सा पास’ को पिरलो

ललितपुर, फागुन २५ । महालक्ष्मी नगरपालिकाको सानागाउँ देवननी टोलमा तीन पैसा क्षेत्रफलमा बनेको संगीतमान नेमकुलको घर ०७२ सालको भूकम्पले जीर्ण बनेको छ। उनी चर्किएको घरमा बस्नुभन्दा नयाँ घर बनाउन चाहन्छन्। तर, थोरै जग्गा भएका कारण क्षेत्रफल नपुगेर नक्सा पास नहुने चिन्ता छ उनलाई। ‘भूकम्पपछि नयाँ घर बनाऊँ भनेको नक्सा पासले निकै अप्ठ्यारो पारेको छ,’ नेमकुल भन्छन्।
सानागाउँमा मात्रै भूकम्पबाट पीडित बनेका आठ सय घरधुरी नक्सा पासका कारण मर्कामा परेका छन्। सानागाउँस्थित ६ नम्बर वडाका अध्यक्ष बाबुदेव महर्जनले थौरै जग्गामा घर रहेका आठ सयभन्दा बढी घरधुरी समस्यामा रहेको बताए। उनले अन्नपूर्णसँग भने, ‘नक्सा पास गर्नु टाउको दुखाइ बनेको छ।’

पुरानो बस्ती भए पनि नगरपालिकाको मापदण्डअनुसार नपरिने डरले स्थानीय नक्सा पास गराउन चाहँदैनन्। वडा ६ मा अहिलेसम्म ८४ वटा घर निर्माण भइसके पनि नक्सा पास नभएको वडाध्यक्ष महर्जनले स्विकारे। जनप्रतिनिधि भएका कारण आफूले नक्सा पासका लागि प्रयास जारी राखेको भनाइ महर्जनको छ।

देवननी टोलकी सानु महर्जनले पनि एक आनाभन्दा थोरै जग्गामा चारतले घर ठड्याइन्। उनको घरको नक्सा पास हुँदैन भन्ने थाहा भए पनि घरका लागि उनले २५ लाख रुपैयाँ खर्च गरिन्। अर्का लक्ष्मीबहादुर नेमकुलको समस्या पनि उस्तै छ। उनले पनि दुई आना जग्गामा तीनतले घर बनाए। प्रत्येक तलामा चिटिक्कका दुई कोठा पनि निकालेका छन्। तर, नक्सा पास भएको छैन। ‘नक्सा पास गर्न तम्सिएको थिएँ तर घरको अगाडि–पछाडि पाँच फिट जग्गा छाड्नुपर्ने भनेपछि पहल गरिन्,’ उनले भने। उनले वडामा नक्सापासका लागि निवेदन भने दर्ता गरेका छन्।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सानागाउँ, सिद्धपुर तथा लुभु पुरानो बस्ती रहेकाले सम्पदा सूचीमा राखिएको बताए। ऐतिहासिक एवं पुरातात्विक महŒव बोकेका यस्ता ठाउँका भित्री बस्तीमा सरकारको मापदण्ड लागू नगरी घर बनाउन छुट दिनुपर्ने श्रेष्ठले बताए। ‘दुई आना होस् वा दुई पैसा होस्, सम्पदा सूचीमा रहेका कारण जग्गा जति भए पनि यी ठाउँमा नक्सा पास हुनुपर्छ’, श्रेष्ठले भने। उनले नक्सामा छुटका लागि सम्बद्ध सबै सरकारी निकायमा पहल गरिरहेको जानकारी पनि गराए।

पुरातŒव विभागका अधिकारीलाई पनि यी गाउँमा घुमाइसकेको बताउँदै श्रेष्ठले थपे, ‘यस्ता ऐतिहासिक महŒव बोकेका ठाउँमा पुरातात्विक शैलीका घर बनाउन स्थानीयलाई उत्प्रेरित गरिरहेका छौं।’ घर निर्माण गर्नेको नक्सापासका लागि ५० प्रतिशत छुट गर्ने व्यवस्था गरिएको र आर्थिक अवस्थाका कारण नक्सा बनाउन नसक्नेलाई नगरपालिकाले निःशुल्क नक्सा बनाइदिने व्यवस्था गरेको पनि श्रेष्ठले सुनाए। उनका अनुसार अहिलेसम्म नगरपालिकाको पहलमा सात–आठ जनाको निःशुल्क नक्सा बनाइसकिएको छ।

महालक्ष्मी नगरपालिकाका वडा ६ र ८ मा यस्ता समस्या धेरै भएको मेयर श्रेष्ठले बताए। वडा ६ का सदस्य नन्द महर्जनले भने नक्सा पासको विषयलाई नगरपालिकाले रोकेर राखेको बताए। ‘यी ठाउँका शतप्रतिशत स्थानीयले लालपुर्जा र नक्सा पास नभएका कारण भूकम्पको राहतसमेत पहिलो किस्ता नै लिन पाएका छैनन्। घर बनाउन त परकै कुरा,’ महर्जनले भने। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /