नेप्से र कारोबार रकम घट्नुको कारण

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्त कम्पनीलाई पूँजी वृद्धि गर्न दिएको समयावधि सकिसकेको छ । नेपाल राष्ट्र बैङ्कले २ वर्षअघि बैङ्क तथा वित्त कम्पनीहरूलाई चुक्तापूँजी लगभग ४ गुणाले बढाउनुपर्ने आफ्नो मौद्रिक नीतिमार्फत निर्देशन दिएको थियो बैङ्क तथा वित्त कम्पनीहरूको चुक्तापूँजी बढेमा बैङ्क तथा वित्त कम्पनीहरू बलियो हुने, ठूलाठूला आयोजनाहरूमा लगानी गर्न सकिने र लगानीको वातावरण बन्ने आदि तर्कहरू अघि सारेका थिए त्यसबेला नेपाल राष्ट्र बैङ्कले । त्यसअनुसार बैङ्क तथा वित्त कम्पनीहरूले पूँजी पनि वृद्धि गरे ।

पूँजीवृद्धि नीतिको उद्देश्य नेपालमा च्याउसरी उम्रेका बैङ्क तथा वित्त कम्पनीको सङ्ख्या घटाउन हो भन्ने गरियो । यसलाई होइन भन्ने अवस्था पनि छैन । आफ्नो पूँजी बढाउनुपर्ने भएकाले थुप्रै बैङ्क तथा वित्त कम्पनीले मर्जर र एक्वायरको नीति अवलम्बन गरे । यसले बैङ्क तथा वित्त कम्पनीको सङ्ख्यामा कमी पनि आयो । तर पनि नेपाल राष्ट्र बैङ्कले जुन उद्देश्यले पूँजी वृद्धिको नीति ल्याएको थियो त्यो भने आंशिक रूपमा मात्र सफल भयो भन्दा पनि हुन्छ । राष्ट्र बैङ्कको उद्देश्यअनुरूप वाणिज्य बैङ्कको सङ्ख्या भने घटेनभन्दा पनि हुन्छ । तर, ससाना विकास बैङ्क तथा फाइनान्स कम्पनीको सङ्ख्या भने धेरै घट्यो । सबैजसो वाणिज्य बैङ्कले पूँजी बढाउन विकास बैङ्क तथा फाइनान्स कम्पनीलाई मर्जर र एक्वायर गरे । अहिले पनि वाणिज्य बैङ्कहरू २८ वटा छन् । अब घट्नेवाला पनि छैन होला । ग्राण्ड बैङ्क प्रभु बैङ्कसँग मर्ज भयो । किष्ट बैङ्क र प्रभु विकास बैङ्क मर्ज भई प्रभु बैङ्क बनेको थियो भने अर्को वाणिज्य बैङ्क लुम्बिनी बैङ्क अफ काठमाण्डूसँग मर्ज भयो ।

पूँजी वृद्धिको नीतिले धेरैजसो विकास बैङ्कहरू र फाइनान्स कम्पनीहरू मारमा परे । कम समयमा धेरै पूँजी वृद्धि गर्नु परेकाले विकास बैङ्क र वित्त कम्पनीहरू मर्जर र एक्वीजिशनमा गए भने कतिपय विकास बैङ्क र वित्त कम्पनीहरूको अस्तित्व नै समाप्त भयो । कम समयमा स्वयम् आफूले पूँजी वृद्धि गर्न नसकिने भएपछि धेरैजसो विकास बैङ्क र वित्त कम्पनीहरू मर्जरमा जान बाध्य भए केही वाणिज्य बैङ्कहरूमा विलीन हुन पुगे ।

नारायणी नेशनल फाइनान्स र सगरमाथा फाइनान्स कम्पनीहरू आफैले पूँजी पुर्‍याइसकेको भए पनि वाणिज्य बैङ्कहरूसँग बेचिन पुगे । त्यसो त कतिपय विकास बैङ्क र वित्त कम्पनीहरूले आफै पूँजी पु¥याइसकेका छन् भने केही कम्पनीहरू पूँजी पुर्‍याउनेमा अहिले पनि कसरत गरिरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कको भनाइअनुसार पूँजी वृद्धि नीति सफल भएको माने पनि यसले शेयर बजार र लगानीकर्तामाझ भुइँचालो नै ल्यायो । यसले शेयरबजारलाई नै डामाडोल बनायो भने लगानीकर्ताहरू झन् मारमा परे । बैङ्क तथा वित्त कम्पनीले आआफ्नो पूँजी बढाउन मर्जर, एक्वीजिशन र हकप्रद शेयर जारी गर्ने बाटो अपनाए । कतिपय बैङ्क तथा वित्त कम्पनीहरूले १ वर्षमा ३/३ पल्टसम्म हकप्रद शेयरको भारी बोकाए । कतिपय कम्पनीले लगानीकर्तालाई हकप्रद शेयरको भारी बोकाएर आफ्नो पूँजी पु¥याए भने कतिपय कम्पनीहरूले हकप्रद शेयर पनि जारी गरे र मर्जर र एक्वीजिशनमा पनि गए भने यसबाट नोक्सानीमा त लगानीकर्ताहरू परे । कुन कम्पनीको कोसँग कसरी कति स्वाप रेशियोमा मर्जर र एक्वीजिशन भए धेरै जसो लगानीकर्ताले सुइँकोसम्म पनि पाएनन् । एउटै कम्पनीको ३, ४ ओटा कम्पनीसँग मर्जर र एक्वीजिशन हुँदा लगानीकर्ता अलमलिए पनि ।

पूँजी वृद्धि गर्न मर्जर र एक्वीजिशनमा कम्पनीहरूले लामो अवधिसम्म लगाउने कारण लगानीकर्ताको लगानी ब्लक भयो । यसले नोक्सानीमा लगानीकर्ताहरू नै पर्ने भए । मर्जरमा गएका कतिपय बैङ्क तथा वित्त कम्पनीहरूमा भाँडभैलोसम्म हुने गरेको छ । पछिल्लो समयमा मेगा बैङ्क र टुरिजम डेभलपमेण्ट बैङ्कको मर्जर प्रक्रिया गएको १ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । गतवर्ष मर्जर प्रक्रिया थाल्दाको शेयरबजार र अहिलेको शेयरबजारमा धेरै अन्तर भइसकेको छ । गतवर्षभन्दा अहिले नेप्सेमा भारी गिरावट आइसकेको छ । यसले गर्दा मेगा बैङ्क र टुरिजम डेभलपमेण्ट बैङ्कका लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नुपर्ने भइसकेको छ ।

एकातिर बैङ्कको ब्याज बढ्दै छ भने अर्कोतर्फ शेयरको भाउ पनि घटिरहेको छ । लगानीकर्तालाई हकप्रद शेयरको भारी बोकाएर शेयरबजारमा शेयरको थुप्रो भएको कारणले नेप्सेमा गिरावट आएको हो भनेर पनि सरोकारवालाहरू बताउँछन् । पूँजी वृद्धिको नीति सफल भयो भनेर केन्द्रीय बैङ्कले भनिरहँदा शेयरबजारका लगानीकर्ताले नोक्सानी बेहोर्न परिरहेको छ ।

बैङ्क तथा वित्त कम्पनीको पूँजी वृद्धिका कारण लगानीकर्तासँग शेयरको थुप्रो नै भए । त्यो कारणले लगानीकर्ताले शेयर खरिदमा त्यति चासो नै देखाएनन् । हकप्रद शेयर भर्दा भर्दै नै पूँजी सकिएको थुप्रै लगानीकर्ताको भनाइ रहेको छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर राजनीतिक कारणले पनि शेयर बजारमा प्रभाव पारेको छ । नेप्से घटेको र राजनीतिक कारणले नवप्रवेशीहरू शेयरबजारमा प्रवेश गर्न डराइरहेका छन् । यसको कारणले पनि शेयरबजार ओरालो लागेको हो भनेर पनि भनाइ रहेका छन् । हुन त नेप्से घट्ने र बढ्ने भइरहन्छ । तर पनि शेयरबजार निरन्तर घटिरहँदा लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर भने परेका हुन्छ । शेयरबजार सधंै घटिरहँदैन यो बढ्छ पनि लगानीकर्ताहरू लगानी गर्न डराउन पर्ने अवस्था भने छैन । तर पनि लगानीकर्ताले लगानी गर्दा अरूको हल्लाको पछि नलागी आफ्नो सुझबुझले लगानी गर्नुपर्छ । लगानीकर्ताहरू सचेत भने हुनुपर्छ । (आर्थिक अभियानका लागि नरेन्द्रमान श्रेष्ठको लेख)

प्रकाशित मिति: बुधबार, फाल्गुन १६, २०७४ /Wednesday, February 28th, 2018, 8:32 am