शेयर बजारमा रौनकको सम्भावना

नेपाल शेयर बजार लामो समयदेखि सामान्य घटबढको अवस्थामा रुमल्लिरहेको छ । अधिल्लो साता लगातार गिरावट आएको नेप्सेमा साताको पहिलो दिन पनि गिरावट आएर एक हजार ३८० को बलियो टेवालाई समेत तोड्दै नेप्से तल झरेको अवस्था छ । तर, लामो समयदेखि नेप्सेको उतारचढाव हेर्ने हो भने नेप्से परिसूचकाङ्क एक हजार ३७० को बिन्दुदेखि एक हजार चार सय ३० को बिन्दु नजिक घुमिरहेको धेरै समय भइसकेको छ । आजभन्दा डेढ वर्षअधि एक हजार ८८१ को बिन्दुमा उक्लिएको बजार एक हजार २१९ को बिन्दुमा ओर्लिएर माथि लाग्दै पुनः सामान्य संशोधन भएको अवस्था हो अहिले । प्राविधिक विश्लेषकहरू पनि बजारमा एक हजार चार सयको बिन्दुलाई बलियो टेवाको रूपमा स्वीकार गर्दै आएका छन् । सोभन्दा केही मुनीको बिन्दुमा आएर बजार पटक–पटक फर्किएको छ । मुलुकमा तीन तहको चुनाव सम्पन्न भएपश्चात् बढने अनुमान गरिएको बजार त्यसो हुन सकेन । त्यसपश्चात् केपी ओली नेतृत्वको सरकार आएपश्चात् बजार बढ्ने हल्ला व्यापक भयो, जसको परिणाम स्वरूप सरकार गठनसँगै एकै दिन ३६ अङ्कको बढोत्तरी भए पनि त्यस्तो वृद्धि दिगो भने हुन सकेको छैन । बजारले हाल सरकार गठनपश्चात् भएको बढोत्तरी गुमाइसकेको अवस्था छ । शेयर बजारलाई हाल मुख्य रूपमा दुई तŒवले प्रभाव पारेको देखिएको छ ।

निक्षेप तथा कर्जामा देखिएको चर्को ब्याजदरका कारण बजारमा लगानीयोग्य रकमको अभाव देखिएकोले शेयर बजारमा लगानी गर्न सस्तो ब्याजदरको पैसाको जोहो गर्न असम्भवझैँ बनेको छ अहिले । मुद्दती खातामा ब्याज नबढाउने सहमति कार्यान्वयन हुँदाको अवस्थामा बैङ्कहरू बचत खातामा ब्याज बढाउने तरखरमा देखिएका छन् । यस्तो अवस्थामा दोस्रो बजारमा लगानी गर्न मिल्ने रकमको अभावले बजारमा कारोबार कम हुनु र बजारमा त्यसको नकारात्मक प्रभाव पर्नु स्वाभाविक नै हो । बजारमा देखिएको ब्याजदर वृद्धिको यो अवस्था लामो समयसम्म भने चल्ने देखिँदैन । त्यसैगरी बजारमा देखिएको शेयरको बढ्दो आपूर्ति पनि बजारलाई माथि लान गाह्रो पार्ने प्रमुख कारक तŒव बन्दै आएको छ ।

नयाँ सरकारको आगमन र त्यसले पूर्णता पाएको अवस्थामा आगामी दिनमा सरकारले आर्थिक विकासको मुद्दालाई अब प्राथमिकतामा राखेर अघि बढने विश्वास गर्न सकिन्छ । लामो समयदेखि मुलुकको राजनीतिक मुद्दा सल्टिएपश्चात् आर्थिक मुद्दाले प्राथमिकता पाउने नेताहरूको भनाइ अब सार्थक बनाउने चुनौती राजनीतिक नेतृत्वमा देखिएको छ । विकासको मुद्दालाई सरकारले प्राथमिकतामा राख्ने र प्रतिपक्षले विकासमा अवरोध नगर्ने अवस्थामा नै मुलुकले आर्थिक विकासको गति लिन सक्छ । सरकारले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यहरू अघि बढाएको अवस्थामा शेयर बजारमा पनि रौनक छाउने आशा अब गर्न सकिन्छ । विकास निर्माणको कार्यले गति लिएको अवस्थामा विकास बजेटमार्फत बजारमा प्रशस्त मात्रामा पैसाको कारोबार हुने अवस्था सिर्जना हुन्छ, जसले गर्दा बजारमा बैङ्क वित्तीय संस्थाहरूसँग थप लगानीयोग्य रकम बढ्ने र त्यसको सकारात्मक असर शेयर बजारमा पनि पर्ने अनुमान जायज नै हुनेछ । केन्द्रीय सरकारले मात्र नभएर प्रादेशिक सरकारहरू पनि तछाडमछाड गर्दै विकासमा होमिने अवस्थाले मुलुकको समग्र आर्थिक विकासलाई कायापटल गर्न सक्छ । लामो समयदेखि रिक्त रहेको स्थानीय निकायसमेत चुनावपश्चात् सक्रिय बनेको अवस्थामा अब सरकारले कुनै पनि राजनीतिक समस्या देखाएर आर्थिक विकासको मुद्दालाई ओझेलमा पार्न सक्दैन र हुँदैन पनि ।

अबको दिन बजारमा माथि जाने सम्भावना बढ्दै गएको छ । लामो समयसम्म एक हजार चार सयको नजिक घुमिरहेको बजारमा शेयरको चर्को आपूर्ति हुँदा समेत बजार खासै घटेन । अब आपूर्तिमा केही सहजता आएकोले बजारमा केही माथि जान सक्ने आधार तयार भएको छ । बजारमा शेयरको आपूर्ति घट्दो छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सूचीकृत कम्पनीहरूको प्रगति समग्रमा राम्रो देखिएको छ । बैङ्क वित्तीय संस्थाहरूले प्रशस्त लगानी गरेका छन् । अबका दिनमा लगानीयोग्य रकम थप हुने आशा गर्न सकिन्छ । प्राविधिक विश्लेषकहरूको भनाइलाई आधार बनाउँदा नयाँ सरकारले लिने शेयर बजारमैत्री नीतिको आगमन र आर्थिक क्रियाकलाप बढेसँगै नेप्से परिसूचकाङ्कमा ‘बाउन्च ब्याक’ भएर एक हजार ५८० को बिन्दुसम्म पुग्न सक्छ । त्यसपश्चात् लामो समयसम्म सो बिन्दु नजिक बजार टिकेको अवस्थामा मात्र अझै माथि जाने सम्भावना रहन्छ ।

हाल कर्मचारीका लागि साञ्जेन र रसुवागढी जस्ता ठूला जलविद्युत् कम्पनीको शेयरको बिक्री खुला भएको छ भने आगामी चैतमा पनि माथिल्लो तामाकोशीको सर्वसाधारणका लागि शेयरको बिक्री खुला हुने भएको छ । त्यसमा लगानी निश्चित व्यक्ति र सीमित समूहले मात्र लगानी गर्न पाउने भएको खासै ठूलो असर पर्दैन । प्राथमिक शेयरका लागि सी–आस्वा

(केन्द्रीकृत आस्वा प्रणाली) अनिवार्य भएको अवस्थाले प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण पनि घट्दो देखिएको छ । दश कित्ता शेयर पार्नकै लागि हाल ठूला लगानीकर्ता धेरै रकम खर्च गर्न तयार देखिँदैनन् भने साधारण लगानीकर्ता पनि सी–आस्वाको अनिवार्यले अझै अन्योलमा नै देखिएका छन् । यस्तो अवस्थामा प्राथमिक बजारमा लगानीकर्ताको चाप बढ्ने अवस्था देखिँदैन । दोस्रो बजारमा शेयरको मूल्य सस्तिएका बेला छानीछानी लगानी गर्ने अवसर मिलेको कारण पनि आगामी दिनमा बजारमा सामान्य बढोत्तरीको अपेक्षा गर्न सकिन्छ । हाल बजारमा एफपीओदेखि लिएर कर्मचारीका लागि खुलेको साधारण शेयर र दोस्रो बजारमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीको शेयरमा लगानी गर्ने जस्ता थुप्रै लगानीका सम्भावना देखिन्छ । बैङ्कमा राम्रो ब्याजको लोभमा पर्नेहरू र बजार अझै घट्छ भन्ने डरले शेयर बजारमा लगानी नगर्नेले कमाउन सक्दैनन् । ब्याजदर राम्रो पाएको बेला निश्चित ब्याजदरमा रमाउने कि, जोखिम मोलेर राम्रो कम्पनीको शेयरमा लगानी गर्दै भविष्यमा मनग्य कमाउने भन्ने विषय भने व्यक्तिगत निर्णयमा भर पर्ने कुरा हो । चर्को ब्याजदरमा ऋण ल्याएर दोस्रो बजारमा लगानी गर्न गाह्रो पर्ने अवस्था देखिए पनि भएको बचतबाट भने शेयरमा जोखिम मोलेर लगानी गर्ने उपयुक्त अवसर आएको देखिन्छ । (गोरखापत्रका लागि सरोज अधिकारीको लेख)

प्रकाशित मिति: बुधबार, फाल्गुन १६, २०७४ /Wednesday, February 28th, 2018, 8:23 am