इन्टरनेटमा फड्को

काठमाडौं, फागुन १२ । नेपालमा इमेल/इन्टरनेट सेवा सुरु भएको २३ वर्ष पुगेको छ। २३ वर्षको यस अवधिमा यो क्षेत्रमा भएको जति विकास सायदै अन्य कुनै क्षेत्रले हासिल गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ६३.१७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन्। विगत सात वर्षको अवधिमा ५४.४३ प्रतिशतले इन्टरनेट पहुँचमा वृद्धि भएको छ। २०६७ मा इन्टरनेट पहुँच कुल जनसंख्याको ८.७४ प्रतिशत थियो।

प्रविधिमा भएको विकास र मोबाइलको विस्तारले पनि इन्टरनेटको पहुँचमा वृद्धि गर्न ठूलो भूमिका निर्वाह गरेको छ। कुनै समय एक कल फोन गर्न लाइन बस्नुपर्ने अवस्थामा परिवर्तन भएर नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइल विस्तार भइसकेको छ। प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा कुल जनसंख्याको १३५.५५ प्रतिशत मानिसमा मोबाइल सेवा पुगिसकेको छ। झन्झटिलो इमेल सर्भरबाट सुरु भएको इन्टरनेट प्रयोगकर्ता अहिले एक करोड ६७ लाख ३७ हजार तीन सयभन्दा बढी छन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सन् १९९५ जुलाईमा मर्कन्टाइलले पहिलो पटक इमेल सेवा सुरु गरेको थियो। सन् १९९५ सेप्टेम्बरमा आएर वल्र्डलिंकले इमेल/इन्टरनेटको विकास क्रममा इँटा थप्ने काम गर्‍यो। रमाइलो कुरो त अझ यो छ कि, एउटा व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनका लागि निर्माण गरेको इमेल सर्भरले नेपालमा इमेलदेखि इन्टरनेटसम्म आइपुग्ने बाटो खोल्यो।

बेराजगारीसँगै भित्रिएको इन्टरनेटले नेपालमा तहल्का मच्चाएको छ। सियाटलमा युनिभर्सिटी अफ वासिङटनबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेर ६ महिनासम्म बेरोजगार बसेका युवाले लिनक्स अपरेटिङ सिस्टममा आधारित भएर तयार गरेको इमेल सर्भर नै नेपालको इन्टरनेट विकासको प्रमुख कडी हो। दाइले निर्माण गरेको यो सर्भर नेपालमा जडान गरी आफ्ना बुबाआमासँग सहजै गफ गर्न सकिन्छ भनेर अमेरिकाको ब्रिक्स कलेजमा बायो केमेस्ट्रीमा डिग्री गरिरहेका दिलिप अग्रवाल (वल्र्डलिंक प्राइभेट लिमिटेडका अध्यक्ष) ले नेपालमा सुरु गरेको इमेल सर्भर आज नेपालको ठूलो इन्टरनेट प्रदायक कम्पनीको रूपमा उदाएको छ।

डायलअपमा आधारित भएर सुरु भएको उक्त इमेल सर्भिस ग्राहकका साथै सेवा प्रदायकलाई पनि झन्झटको विषय थियो। ‘उक्त समयमा इमेल सर्भिस पाउनेलाई भाग्यमानी व्यक्तिको रूपमा हेरिन्थ्यो’, अग्रवाल भन्छन्, ‘आज इमेल सबैको पहँुचमा त्यो पनि सहज रूपमा पुगेको छ। इमेल सर्भिसबाट फुल फेजको इन्टरनेट सेवा भने १९९७ जनवरीबाट भएको हो।

त्यो बेला मर्कन्टाइलले सिंगापुरको सिङटेलसँग लिजलाइन लिएर इन्टरनेट सेवा सुरु गरेको थियो। त्यो भन्दा अघि किलोबाइटमा इमेल बेचिरहेको अवस्थामा प्रतिमिनेट चार्जका आधारमा इन्टरनेट बेच्न सुरु भयो। त्यसपछिका दिन इन्टरनेटको डिमान्ड पनि बढ्दै गयो। सुरुमा इन्टरनेट जति मिनेट प्रयोग गरियो त्यति नै मिनेटको शुल्क तिर्नु पर्थ्यो। दिउँसोको अलि महँगो थियो भने बेलुका अलि सस्तो। सन् १९९८ मा आएर पहिलो पटक नेपालमा भिस्याट भित्रिएको थियो। त्यतिबेला प्रतिएमबीपीएस चार हजार रुपैयाँ थियो। त्यसपछि ग्राहकले धेरै ब्यान्डविथमा इन्टरनेट चलाउन पाए। भिस्याट नेपालको दुरसञ्चार क्षेत्रमा भएको एउटा ठूलो कदम भएको अग्रवाल बताउँछन्।

त्यो समयसम्म पनि नेपाल टेलिकमले भ्वाइस सेवाबाहेक इन्टरनेट सेवा सुरु गरेको थिएन। तर योजना भने बनाएको थियो। सन् १९९९ मा जीएसएम मोबाइल सेवा सुरु गरेको टेलिकमले सन् २००० मा आएर पहिलो पटक डायलअप इन्टरनेट सुरु गरेको थियो। त्यो बेलासम्म इन्टरनेट सेवा प्रदायक कम्पनीले वायरलेस इन्टरनेट सेवा प्रदान गर्न थालिसकेका थिए। त्यो समयमा वायरलेस प्रविधि महँगो भएकाले बिजनेस हाउसमा मात्र पुगेको थियो।

उक्त समय टेलिकमको इन्टरनेट सुरु र प्राइभेट सेक्टरमा भएको प्रतिस्पर्धा नै नेपालको इन्टरनेट विकासको सबैभन्दा महत्वपूर्ण समय भएको बताउँछन् नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल। उनका अनुसार त्यसपछिका वर्षमा नेपालमा धेरै इन्टरनेट प्रदायक कम्पनी भित्रिए, नेपाल टेलिकमले एडीएसएल सेवा सुरु गर्‍यो।

सन् २००४ मा प्रिपेड मोबाइल सेवा सुरु भयो भने सन् २००७ को अन्त्यमा जीपीआरएस अर्थात मोबाइल इन्टरनेट सेवा सुरु भयो। मोबाइल इन्टरनेटको रूपमा जीपीआरएस सेवा सुरु भएसँगै नेपालमा इन्टरनेटले ठूलो फड्को मारेको खनाल बताउँछन्।

सन् २००८ मा एनटीसीले एडीएसएल सेवा सुरु गरेसँगै भारतको बीएसएनएलमार्फत नेपालमा सस्तोमा इन्टरनेट भित्रिन थाल्यो। प्रतिएमबीपीएस १५ सय डलर तिर्दै आएको इन्टरनेटको मूल्य तीन सय डलरमा झर्‍यो। यसरी एकपछि अर्को सेवा थपिने क्रमले इन्टरनेट पहुँच सहज भएको छ।

‘तर पनि इन्टरनेट पहुँच र विकासको आधारमा हेर्ने हो भने २००७ बाट नेपालमा सुरु भएको जीपीआरएस अर्थात मोबाइल इन्टरनेट सेवा नै नेपालको परिवेशमा सबैभन्दा अर्थपूर्ण भएको छ’, नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारी भन्छन्, ‘वायरलेस इन्टरनेटको पहुँच त अझै पनि खासै हुन सकेको छैन।’ अहिले पनि आईएसपीले प्रदान गर्ने इन्टरनेट प्रयोगकर्ताको संख्या तीन लाख ३१ हजार सात सय १३ मात्रै छ।

उनका अनुसार मोबाइलमा इन्टरनेट सुरु भएसँगै इन्टरनेट प्रयोगकर्ता बढ्दै गएका हुन्। जीपीआरएस सेवा सुरु हुँदा सुरुमा वेभपेज पनि खुल्ने अवस्था थिएन। विस्तारै जीपीआरएस सेवाको गुणस्तरमा पनि वृद्धि हुँदै गयो, वेभपेज खुल्ने, फेसबुकलगायत सामाजिक सञ्जालमा मानिस जोडिन सक्ने भए। ‘इन्टरनेटसँगै थपिँदै आएको विभिन्न सेवाले अझ इन्टरनेट विस्तारमा सहयोग पुगेको हो’ अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालमा जोडिने क्रमले मानिस इन्टरनेटसँग जोडिएका हुन्।’

‘अहिले टूजी इन्टरनेट देशको ७५ वटै जिल्ला सदरमुकाममा पुगिसकेको छ’, अधिकारी भन्छन्, ‘अनि त्यसपछि विस्तार भएको थ्रीजी पनि अहिले ६० भन्दा बढी जिल्लामा पुगिसकेको छ। थ्रीजीको विस्तारले मोबाइल प्रयोगकर्ता पनि बढ्दै गए। थ्रीजीमार्फत विदेशमा बस्ने आफन्तसँग सहज रूपमा कुरा गर्न सकिने भएसँगै गाउँगाउँमा मोबाइल बोक्ने र इन्टरनेट प्रयोग गर्ने मानिसको संख्यामा वृद्धि भएको हो।

विस्तारै इन्टरनेट ब्यान्डविथ पनि थपिँदै गयो।’ वल्र्डलिंकका अध्यक्ष अग्रवालका अनुसार सन् २०१२ मा वल्र्डलिंकले पहिलो पटक नेपालमा १० एमबीपीएसको इन्टरनेट भित्यायो। साथै सँगसँगै फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेट आयो।

अग्रवालका अनुसार एफटीटीएच सेवा नेपालको इन्टरनेट दुनियाको एउटा माइलस्टोन हो। अमेरिका बेलायतजस्ता देशमा अझै पनि एफटीटीएचमा गएका छैनन्। एफटीटीएचको प्रयोग ठूलो मात्रामा एसियाली मुलुकमा भएको छ। त्यसमा पनि जापान कोरियामा बढी प्रयोगमा आएको उनी बताउँछन्। एफटीटीएच भित्रिएसँगै इन्टरनेटको स्पिडमा आकाश जमिनको फरक छ।

स्पिड बढेसँगै यसको प्रयोग देशका हरेक क्षेत्रमा हुन थालेको छ। बैंकले मात्र प्रयोग गर्दै आएको इन्टरनेट अन्य प्राइभेट सेक्टरका साथै सरकारी कार्यालयमा पनि प्रयोगमा आएको छ। कुनै समय लाइसेन्स, राहदानीलगायत सेवा लिन रातको १२ बजेदेखि लाइनमा बस्नुपर्ने बाध्यता अनलाइन सेवाले सहज बनाइदिएको छ।

काठमाडौंबाहिर इन्टरनेट
काठमाडौंभन्दा बाहिरका सहरमा इन्टरनेट पहुँच पुर्‍याउन बैंक तथा वित्तीय संस्थाको ठूलो हात छ। उनीहरूको दबाबले निजी क्षेत्रले काठमाडौंभन्दा बाहिर सेवा विस्तार गरेका हुन्। ‘काठमाडौं भन्दाबाहिर इन्टरनेट सेवा सुरु गर्ने पनि मर्कन्टाइल नै हो’, अग्रवाल भन्छन्, ‘सन् १९९९ वल्र्डलिंकले बाहिर इन्टरनेट सेवा विस्तार गुर्नपूर्व नै मर्कन्टाइल सेवा विस्तार भइसकेको थियो। उक्त समयमा एनटीसीबाट लिजलाइन लिएर निजी क्षेत्रले बाहिरी जिल्ला जोडेका थिए।’ उनका अनुसार विस्तारै इन्टरनेट वीरगन्ज, विराटनगर, नेपालगन्ज, हेटौंडा, जनकपुरलगायत स्थानमा विस्तार हुँदै गयो। सबै ठाउँमा डाइलअप नेटवर्क विस्तार भए। भिस्याट हाल्ने काम भयो। मोबाइल इन्टरनेट विस्तार भयो।

मानिसको हातमा भएको मोबाइलमा इन्टरनेट चल्ने भयो। इन्टरनेट पुगेको भए पनि उच्च गतिको इन्टरनेट सेवा काठमाडौंमा मात्र सीमित थियो। ‘सन् २००७ मा वल्र्डलिंकले काठमाडौंदेखि विराटनगरसम्म उच्चगतिको वायरलेस सेवा विस्तार गर्‍यो जुन नेपालकै पहिलो थियो’, अग्रवाल भन्छन्, ‘त्यहाँ रिपिटरको निर्माण गरेर काठमाडौंबाट विराटनगरसम्म १०० एमबीपीएससम्मको हाई स्पिड इन्टरनेट विस्तार गरेका थियौ। त्यसपछि अर्काे रिपिटर जनकपुर र पश्चिममा धनगढीसम्म उच्चगतिको इन्टरनेट पुगेको हो। अहिले आएर बाहिरी जिल्लामासमेत एउटैस्तरको इन्टरनेट सेवा विस्तार भएको छ। यसले देशको आर्थिक विकासमा ठूलो सहयोग पुर्‍याइरहेको अग्रवाल बताउँछन्।

फोरजी विस्तार
चौथो पुस्ताको मोबाइल सेवा फोरजी अथवा लङ टर्म इभोलुसन (एलटीई) सेवा नेपालको इन्टरनेट विकासमा भएको अर्को महत्वपूर्ण कदम हो। नेपाल टेलिकमले सन् २०१७ मा आएर नेपालमा पहिलो पटक फोरजी सेवा सुरु गरेको हो। अहिले फोरजी सेवा विस्तार देशका विभिन्न सहरमा भइसकेको छ। अहिले देशका २१ सहरमा एनसेलको फोरजी सेवा सञ्चालन भइसकेको छ। एनटीसीले पनि देशभर एकै पटक फोरजी सेवा विस्तार गर्ने योजनाका साथ काम गरिरहेको छ। यो क्रममा स्मार्टसेलले ७२ एमबीपीएस डाउनलोड स्पिड अफर गरिरहँदा नेपाल टेलिकमले ३२.४ एबीपीएस र एनसेलले ३७ एमबीपीएस डाउनलोड स्पिड दिएका छन्।

प्राधिकरणका वरिष्ठ निर्देशक खनालका अनुसार नेपालमा इन्टरनेटको पहुँच गाउँगाउँमा पुर्‍याउन फोरजी विस्तार सबैभन्दा महत्वपूर्ण हुनेछ। दु्रत गतिको मोबाइल इन्टरनेट सेवा फोरजीको विस्तारले ग्रामीण क्षेत्रमा रहेका मानिसमा पनि अवसर सिर्जना गर्नेछ। उनका अनुसार ग्रामीण भेगमा गएर इन्टरनेट सेवा प्रदायक कम्पनीले फाइबर तान्ने छैन त्यतिमात्र हैन एनटीसीले पनि तान्ने छैन। अमेरिकाजस्तो देशमा सरकारले सहुलियत प्रदान गर्दा पनि ग्रामण भेगमा फाइबर विस्तार हुन सकेको छैन। त्यस्तोमा इन्टरनेट पहुँच विस्तार गर्न नेपालजस्तो देशमा वायरलेस त्यो पनि मोबाइलमै हुनु जरुरी छ।

डाटा प्याकले इन्टरनेट विस्तारमा सहयोग
टेलिकम कम्पनीले ग्राहकलाई आकर्षित गर्ने नाममा विभिन्न डाटा प्याकेज ल्याएका छन्। कम्पनीले ल्याएका डाटा प्याक पनि नेपालको इन्टरनेट पहुँचमा भएको वृद्धिको एउटा कारण हो। कम्पनीले ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याएका विभिन्न डाटा प्याक अफरले ग्राहकले सस्तो दरमा डाटा प्रयोग गर्न पाएका छन्। कम्पनीले ग्राहकलाई आकर्षित गर्न ल्याएको डाटा प्याकेजलाई हेर्ने हो भने अहिले नेपाल टेलिकमका ग्राहकले एक एमबी डाटाको ७ पैसा, एनसेलका ग्राहकले ८ पैसा र स्मार्टसेलका ग्राहकले ९ पैसासम्म तिर्दा हुने भइसकेको छ।

ग्राहकलाई स्मार्टसेलले ७२ एमबीपीएस डाउनलोड स्पिड, नेपाल टेलिकमले ३२.४ एबीपीएस र एनसेलले ३७ एमबीपीएस डाउनलोड स्पिड अफर गरिरहेका छन्। उल्लेखित शुल्कमा यो गतिमा मोबाइल इन्टरनेट प्रयोग गर्न पनि नेपालको इन्टरनेटमा भएको अर्को ठूलो फड्को हो।

टेलिकमका सह–प्रवक्ता अधिकारीका अनुसार डाटा प्याकले मोबाइल इन्टरनेट सस्तो हुँदै गएको छ। सस्तो दरमा दु्रत गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न सकिने भएसँगै ग्राहकलाई सहज भएको छ। डाटा प्याकले मोबाइल इन्टरनेटको रूपमा पछिल्लो समय नेपाल भित्रिएको फोरजी सेवालाई पनि सस्तो बनाएको छ। यो सेवा जति सस्तो हुँदै जान्छ त्यति नै इन्टरनेट विस्तार तीव्र रूपमा अघि बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०७४ /Saturday, February 24th, 2018, 7:04 am