ललितपुर महानगरका सबैले कर तिर्ने वातावरण बनाउँछु- रविन्द्र महर्जन,आर्थिक कमिटि संयोजक

ललितपुर महानगरपालिकाले यसवर्ष कर वर्षको घोषणा गरेको छ । महानगरपालिकाभित्र रहेका ठूला साना सबै व्यावसायीहरुलाई करको दायरामा ल्याउन कर वर्ष घोषणा गरेर अभियान समेत सञ्चालन गरेको महानगरपालिकाले जनाएको छ । प्रस्तुत छ यसै विषयमा केन्द्रीत रहेर ललितपुर महानगरपालिकाका २१ नम्बर वडाका अध्यक्ष तथा महानगरपालिका आर्थिक कमिटि संयोजक रविन्द्र महर्जनसँग दैनिकीन्यूजले गरेको कुराकानी :

ललितपुर महानगरपालिकामा अहिलेसम्म पनि करोडौ कर उठ्न सकेको छैन, तपाई आर्थिक कमिटिको संयोजक हुनुहुन्छ, कर उठाउने बारेमा के योजना बनाउनुभएको छ ?
हामीले दुई तीनथरी योजना बनाएका छौं, पहिलो कुरा महानगरपालिकाले कर वर्षको घोषणा गरेर सबै करदातालाई कर तिर्ने वातावरण बनाउन १० प्रतिशत छुट दिने नीति लिएको छ । यसैगरी साना करदातालाई पनि यसअघिको बक्योता मिनाहा गर्ने र आजसम्मको तिरेमात्रै पुग्ने व्यवस्था मिलाएका छौं । हाम्रो दोस्रो काम भनेको साना, ठूला सबै करदातालाई करतिर्ने वातावरण बनाइदिनु हो त्यसका लागि घरदैलो अभियान चलाएका छौं । तेस्रो हो, नियमित कर तिरिरहने करदातालाई केही सम्मान गर्ने सोच बनाएका छौं ।

कर वर्ष भनेर घोषणा गर्दैमा, छुट दिदैमा कर अर्वाै वक्योता रहेको कर उठ्ला भन्ने कसरी विश्वास गर्न सकिन्छ ?
अरु त विकल्प पनि छैन । हामीले सकभर स्वतःस्फूर्त कर तिर्ने वातावरण बनाउने र सोही अनुसारको सुरक्षा दिने हो । महानगरपालिकाले लक्ष्य लिएपछि सबै करदाताले बुझ्नुहुन्छ कि कर उठाउनुको कारण बारेमा । हामीले उहाँहरुलाई कर तिर्न अभिप्रेरित गर्ने हो त्यो गर्छाै । अहिले अविश्वास गरिहाल्नु हुँदैन ।

तर, एक लाख घरधनीले कर तिरेका छैनन, तपाईले भनेको जस्तो विश्वास गरेर मात्रै त उठ्दैन होला ?
हामीले ठूला करदाता, साना करदाता र घरबहालमा राख्ने करदाता गरेर काम गर्दैछौं । हामीले कर नीति नै बनाएका छौं । दीर्घकालीन, मध्यकालीन र तत्कालीन गरेर तीन किसिमका नीति बनाएर करदाताकोमा जाँदैछौ । कर तिर्ने साना ठूला कसैलाई हामी भेदभाव गर्दैनौं । हाम्रो एउटै उद्देश्य भनेको महानगरभित्र रहेका सबैलाई कर तिर्न उत्प्रेरित गर्नु हो । कर तिर्नुको कारण बुझाउनु हो त्यो हामी यो वर्षभित्र गर्न सक्छौं । करबाट मात्र विकास निर्माण हुन्छ भन्ने बारेमा जानकारी भयो भने सबैले तिर्नुहुन्छ ।

तपाईले भनेको उद्देश्य पूरा हुन सबैको सहयोग चाहिने देखियो, सबैले सहयोग होला र ?
कहिँ कतै नयाँ सत्तामा आएका कारण सबैले सहयोग नगर्लान कि भन्ने हामीलाई पनि लागेको थियो । पूरानो सत्ताको अनुभवबाट आएका व्यक्तिहरुले केही समस्या पार्लान की भन्ने थियो तर, यो स्थानीय तह बनेको ८ महिनाको बीचमा सबैले सहयोग गर्नुभएको छ । विशेषगरी हामीले कर्मचारीबाट पछिल्लो समय ठिकै सहयोग पाएका छौं । कर उठेमात्रै कर्मचारीको व्यवस्थापन राम्रो गर्न सकिने हो भन्ने कुरा बुझाउन सकेका छौं । कर्मचारीलाई दिने सुविधा, कार्यक्रम बनाउन पनि बजेट चाहिन्छ र त्यो बजेट आउने मुख्य स्रोत भनेको महानगरभित्र रहेको कर नै हो त्यसै कारण अहिले महानगरपालिका कार्यपालिका, प्रमुख उपप्रमुख कर्मचारी सबैले एउटै आवाज बनाएर कर उठाउन लागेका छौं । सधैँ केन्द्रको अनुदानको मुख ताकेर विकास हुँदैन स्रोत व्यवस्थापनको लागि कर संकलन गर्न सबै एकजुट हुनुपर्छ भनेर हामी सबै जुटेका छौं ।
यो वर्षको हाम्रो लक्ष्य पूरा गर्छाै भनेर लागेका छौं । अहिलेसम्म साना ठूला गरेर झण्डै ६ करोड कर उठिसकेको छ ।

तर, महानगरपालिकामा कांग्रेस, एमाले र माओवादी तीनै पार्टीको उपस्थिति छ, काम गर्न समस्या होला नी ?
त्यस्तो हुँदैन । हामी सबै जुन पाटीबाट चुनाव जितेपनि जनप्रतिनिधि हौ । हाम्रो काम जनताको विकास गर्नु हो । बढी जित्नेलाई विकास चाहिने अरुलाई नचाहने भन्ने हुँदैन । ललितपुर महानगरपालिकाले योजना बनाएर मात्रै हुँदैन आर्थिक कलेक्सन गर्यो भने मात्रै योजना कार्यान्वयन गर्न सक्छ । फेरि अर्काे कुरा आर्थिक कलेक्सनको लागि कर उठाउनुपर्छ भन्ने कुरामा सबै पार्टीका निर्वाचित जनप्रतिनिधि एक मत हुनुहुन्छ । हामीले अहिले नयाँ थपिएको वडाहरुको विकासलाई प्राथमिकतामा राखेका छौं । मलाई विश्वास छ, सबैले सहयोग गर्नुहुनेछ ।

अन्त्यमा रविन्द्र महर्जन ज्यू, महानगरपालिकामा रहेका झण्डै पचास हजार घरधुरीबाट घरबहाल कर उठाउन मुश्किल पर्दैन ? फेरि ठूला करदाताबाट सबै कर उठ्छ नै भन्ने के ग्यारेन्टी छ ?
झण्डै पचार हजार घरबाट बहाल कर उठाउन हामीले व्यापक प्रचारप्रसार गर्दैछौं । कर छुट दिएको र कर तिरेबापद हुने सुविधा बारेमा सबैलाई जानकारी गराउनेछौं । अहिले कतिपयलाई कर किन तिनुपर्छ भन्ने नै थाह छैन । अर्काे कर तिर्न अनुरोध गर्ने, अनुगमन गर्ने योजन लिएका छौं । तीन पटकसम्म पनि कर तिर्न आनाकानी गर्नेलाई हामी कारवाही प्रक्रियामा लैजानेछौं । मलाई लाग्छ हामीले सोचेजस्तै अर्वाै कर यो वर्ष उठ्नेछ । सबै महानगरबासीहरुले आफ्नो बक्यौता कर तिर्नुहुनेछ र महानगरले उपलब्ध गराएको सुविधा प्रयोग गर्नुहुनेछ ।

प्रकाशित मिति: सोमवार, माघ २९, २०७४ /Monday, February 12th, 2018, 12:04 am