२८ दिनदेखि किष्ट मेडिकल बन्द, टेरेन प्रशासनले

ललितपुर, पुस २६ । किष्ट मेडिकल कलेज विगत २८ दिनदेखि अस्पताल प्रशासनले बन्द गरेको छ । अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो सेवा सुविधा बढाउन माग गर्दा अस्पताल प्रशासनले उल्टै त्यहाँ कार्यरत कर्मचारीहरुका हाजिर काट्न शुरु गरेको थियो ।

बुधवार बानेश्वर अवस्थित श्रम विभागमा अस्पताल र कर्मचारी बीच भएको वार्ता बिना निष्कर्स टुंगिएको छ । यता अस्पताल प्रशासन हस्पिटलमा त्यहाँ कार्यरत मजदुर काममा नफर्केसम्म वार्ता नगर्ने अडान राखेपछि वार्ता सफल हुन नसकेको वार्ताटोलीमा सहभागी सुस्मिता कट्टेलले दैनिकीन्युजलाई बताईन । कर्मचारीहरु भने आफूहरुले उठाएके जायज माग पूरा नभएसम्म अस्पतालको काममा नफर्कने बताउँदै आइरहेका छन् । श्रम विभागले अब मन्त्रालयलाई चिठ्ठी लेख्ने र आफूले मध्यस्तकर्ताको भूमिका खेल्ने प्रस्ताव राख्दा समेत अस्पताल प्रशासन मान्न राजी भएन ।

वार्तामा अस्पतालको तर्फबाट वरिष्ठ प्रशासक अक्षय प्रसाद गौतम उपस्थिति भएका थिए । अध्यक्ष लगायतका नेतृत्व तहका प्रशासकहरु कसैसँग सम्पर्क गर्न समेत चाहेनन ।

यता कर्मचारीको तर्फबाट सुस्मिता कट्टेल, रुपेश केसी, सानुभाइ न्यौपाने, उमेश वर्तौला, एम बहादुर श्रेष्ठ, सुनिता चक्रधर, जिपन्टको तर्फबाट चन्द्र थापा र अखिल नेपाल स्वास्थ्य श्रमिक सघको अध्यक्ष निशा खरेल उपस्थिति भएका थिए ।

आन्दोलनरत कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आइतबारदेखि अकस्मित, डाइलसिस सेवासमेत काम नगर्ने बताएका छन् ।

अखिल नेपाल स्वास्थ्यकर्मी संघ, कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्त रुपमा १५ सुत्रिय माग राख्दै मंसिर २८ गतेदेखि आन्दोलन सुरु गरेपछि अस्पताल प्रशासनले अस्पताल नै बन्द गरेको थियो ।

अस्पताल कार्यरत कर्मचारीले तलव वृद्धि गरिनुपर्ने, कर्मचारीको सेवा सुविधा बढाउनु पर्ने, रात्रीकालीन ड्युटीमा खटिनेलाई भत्ताको व्यवस्था गरिनुपर्ने, अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नुपर्ने तथा उक्त फार्मेसीमा अस्पतालका कर्मचारीलाई २५ प्रतिशतसम्म छुट दिनुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरेका थिए ।

यसैबीच यस बारेमा अस्पतालको धारणा बुझ्न सम्पर्क गर्दा अस्पतालका अध्यक्ष आशिष थापा सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ /Wednesday, January 10th, 2018, 9:25 pm