किष्ट मेडिकल कलेजमा २५ दिनदेखि थम्ब हाजिरी बन्द

ललितपुर, पुस २३ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलस्थित किष्ट मेडिकल कलेजले बिना सूचना विगत २५ दिनदेखि सेवा ठप्प पारेको छ ।

अस्पतालमा रहेको थम्ब हाजिरी बन्द गरेपछि कर्मचारीहरु चिन्तित देखिएका छन् । यस बारे कुनै निकाय पनि जिम्मेवार देखिन नसकेको सरोकारवालाले बताए ।

अस्पतालका सुरक्षा गार्डका अनुसार आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको भनिए पनि प्रभावकारी सेवा हुन नसकेको हो ।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, अखिल नेपाल स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियनले संयुक्त रुपमा २०७४ असार २० गते १५ सुत्रिय माग राख्दै दिएको ज्ञापन पत्रको माग पूरा नभएपछि आन्दोलन गर्नु परेको आन्दोलनरत पक्षले बताएको छ ।

मंसिर २८ सतेसम्म चलेको थम्ब हाजिर २९ गते बिहानदेखि नै बन्द रहेको छ भने कर्मचारीहरुले दिएको अल्टिमेटम अनुसार वार्ता नभएपछि शान्तिपूर्ण आन्दोलन सुरु गरेपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प भएको हो ।

आन्दोलनरत पक्षले बिगत २ वर्षदेखि तलव वृद्धि नभएकोमा ८ हजार रुपैयाँका दरले तलब बृद्धि गरिनुपर्ने, कर्मचारीको सेवा सुविधा बढाउनु पर्ने, रात्रीकालीन ड्युटीमा खटिनेलाई भत्ताको व्यवस्था गरिनुपर्ने, अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नुपर्ने तथा उक्त फार्मेसीमा अस्पतालका कर्मचारीलाई २५ प्रतिशतसम्म छुट दिनुपर्ने लगायतका माग राखेको बताइएको छ ।

उक्त आन्दोलनलाई आइतबार अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रीय अध्यक्ष गणेशप्रसाद रेग्मी, नेपाल स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियन (जिफन्ट)का अध्यक्ष चन्द्र थापालगायतले एक्यबद्धता जनाएका थिए ।

यस बारे सम्पर्क गर्न खोज्दा अस्पताल प्रशासन दैनिकीन्युजको सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति: आइतवार, पुस २३, २०७४ /Sunday, January 7th, 2018, 9:57 pm