प्रशासनद्वारा किष्ट मेडिकल कलेज बन्द !

ललितपुर, पुस ११ । ललितपुरको इमाडोलमा रहेको किष्ट मेडिकल कलेजलाई त्यहाँको प्रशासनले बन्द गराइदिएको छ । १३ दिनदेखि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका माओवादी–एमालेका मजदुर संगठनको  माग बेवास्ता गर्दै उल्टै प्रशासनले हस्पिटलनै बन्द गरिदिएको हो ।

किष्ट मेडिकल कलेजमा एक सातादेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको थियो। अखिल नेपाल स्वास्थ्यकर्मी संघ, कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्त रुपमा १५ सुत्रिय माग राख्दै आन्दोलन सुरु गरेपछि अस्पताल प्रशासनले अस्पताल नै बन्द गराइदिएको हो ।

मंसिर २८ गतेदेखि त्यहाँ कार्यरत कर्मचारीले तलव वृद्धि गरिनुपर्ने, कर्मचारीको सेवा सुविधा बढाउनु पर्ने, रात्रीकालीन ड्युटीमा खटिनेलाई भत्ताको व्यवस्था गरिनुपर्ने, अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नुपर्ने तथा उक्त फार्मेसीमा अस्पतालका कर्मचारीलाई २५ प्रतिशतसम्म छुट दिनुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरेपछि अस्पताल प्रशासनले उनीहरुसँग वार्ता नै नगरी अस्पताल नै बन्द गरिदिएको उनीहरुले आरोप लगाएका छन् ।

यसअघि आन्दोलन सुरु भएको दोस्रो दिन मंसिर २९ गते त्यहाँ कार्यरत ३९२ जना कर्मचारीको हाजिरी काटिदिएपछि प्रशासन समक्ष कर्मचारी थप आक्रोशित भएका थिए ।

आन्दोलनको आज १३ दिन वितिसक्दा समेत प्रशासनले वार्ताको कुनै पहल नगरेकोमा असन्तुष्टि जनाएका छन् । यसैबीच यस बारेमा अस्पतालको धारणा बुझ्न सम्पर्क गर्दा अस्पतालका अध्यक्ष आशिष थापा सम्पर्कमा आउन चाहेनन् ।

उक्त आन्दोलनलाई प्रदेश सभासद् माधव पौडेल र माओवादी केन्द्रका नेता शिवप्रसाद कट्टेलले समेत एैक्यबद्धता जनाएका छन् । यो समस्या कुनै पनि हालतमा वार्ताबाट समाधन गर्नुपर्ने धारणा सांसद पौडेल राखेका थिए । यस्तै गरी माओवादी नेता कट्टेलले कर्मचारीहरुको जायज माग अस्पताल प्रशासनले सम्बोधन गर्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति: मङ्लबार, पुस ११, २०७४ /Tuesday, December 26th, 2017, 12:30 pm